गण्डकीमा मन्त्री बन्ने सूचीबाट मनाङे आउट, जीतप्रकाशको इन्ट्री

काठमाडौं :गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका छन् ।

शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत मन्त्री नबनाउने निश्कर्षमा पुगेको र तनहुँ–२ प्रदेश सभा २ का जीतप्रकाश आलेलाई मन्त्री बनाउने निश्चित भएको हो ।

आलेले मुख्यमन्त्रीको कार्यालयबाट सपथ खान खगर आएको पुष्टि गरेका छन् । शुक्रबार बिहान ३ मन्त्रीको नाम टुंगो लगाइसकेपछि मनाङेलाई मन्त्री बनाउने सन्दर्भमा शीर्ष नेतासँग पाण्डेले फोन संवाद थालेका थिए ।

मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् । तर, केन्द्रको गठबन्धन बिग्रन सक्ने भएकाले बनाउनुपर्ने दबाब उनीमाथि थियो । शुक्रबार बिहानसम्म पनि एकीकृत समाजवादीबाट मनाङे मन्त्री बन्न सक्ने पाण्डेले बताइरहेका थिए ।

तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त गरेर पाण्डेले ४ बजे सपथ लिने व्यवस्था मिलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पत्र पठाइसकेका छन् ।