स्याङ्जामा बाख्राको दूधबाट पहिलो पटक व्यवसायिक चीज उत्पादन शुरु

स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिका ८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उनले यसै महिनाबाट चीज उत्पादन सुरु गरेका हुन् । गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाइरेहका छन् । उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् ।

सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिने गरेका छन् । भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थालेका हुन् । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोका बीचमा क्रस गराएर बाख्राको दुध दिने स्तर बढाँउदै दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उनको लक्ष्य छ ।

उनी भन्छन्, “ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ अब भर्खरै उत्पादन भैरहेको र बिक्री पनि भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्छ, बजार पनि विस्तारै खोजी गर्दै अघि बढ्छु । बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए ।

उले दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेका हुन् । अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ । अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा समेत गुरुङ रहेका छन् ।

भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्किएका थिए । बाख्रापालनसम्बन्धी तालिम लिएपछि यसरी जिज बनाउन थालेका हुन् उनले । उनी भन्छन् “मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।”

गुरुङले २०७० सालमा १२ ओटा बाख्राबाट यो व्यवसाय थालेका उनले बाख्रा खरिद र खोर निर्माणमा सूरुमा ४ लाख जति लगानी गरेका थिए । नमूना बाख्रा गाउँ अभियानका अभियन्ता तथा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले समेत बेला बेला उनको फार्ममा अवलोकन गरी आवश्यक परामर्श र प्राविधिक सहयोग गर्ने गरेका छन् ।

शाखा प्रमुख अर्यालका अनुसार चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने र बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो अझै यसलाई स्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या कहिल्यै पनि नहुने सुझाए ।