

काभ्रे : नमोबुद्ध नगरपालिका–७, भकुण्डेबशी स्थित श्री नव प्रतिभा माध्यमिक विद्यालयमा प्रतिभापूर्ण बाल क्लब गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले गठन भएको १५ सदस्यीय क्लबको अध्यक्षमा उमङ्ग काफ्ले चयन भएका छन् । यस्तै उपाध्यक्षमा रिकिशा उप्रेती, सचिवमा रेजिना मैनाली, कोषाध्यक्षमा रुपक श्रेष्ठ चयन भएका छन् ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका शिक्षक विवेक कुमार तामाङले जानकारी दिए । उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए ।
बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, सरसरफाईलगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष उमङ्ग काफ्लेले बताए ।
बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिने क्लबका कोषाध्यक्ष रुपक श्रेष्ठले बताए । यस्तै बाल क्लबमार्फत चालिएका अभियानले बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै आफुहरुको व्यवहारमा समेत परिर्वतन आउने श्रेष्ठको विश्वास छ ।
बाल क्लब नमोबुद्ध नगरपालिकाको नगर बालमैत्री सहजकर्ता प्रमिला हुमागाईँको रोहबरमा गठन गरिएको थियो ।
क्लवले विद्यालय र विधार्थी विच समन्वय गरि विभिन्न प्रकारका बालबालिका केन्द्रीत सामाजिक कार्यहरु समेत गर्ने बताईएको छ।
