सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं : प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरू भएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित भएकाे समयमा बुधबार दिउँसाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएकाे हाे ।

तीन शीर्ष नेताबीच मंगलबार पनि सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको थियाे । तर, यता नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् ।

उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका छन् । रायमाझीका छोरा पक्राउ परी अनुसन्धान भइरहेको छ । सोही प्रकरणमा कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आज पक्राउ गरिएकाे छ ।