सगरमाथा आधार शिविरमै पर्यटन बिभागकाे सम्पर्क कार्यालयको स्थापना

डिल्ली शर्मा
सोलुखुम्बु : पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधि भरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।

यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि आधार शिविरमा नै सम्पर्क कार्यालय नै स्थापना गर्नु परेको पर्यटन विभागले जनाएको छ ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वैशाख २५ देखि सुरु हुने अनुमान गरिएको सगरमाथा आरोहणलाई व्यवस्थित गर्न आरोहण अवधिभर सात जना कर्मचारी खटिने गरी सम्पर्क कार्यालय खोलिएको हो ।

गैरकानुनी क्रियाकलाप, आरोही समूहबीच हुने झगडा, आरोहणका क्रममा हुने ट्राफिक जाम, उद्धारमा समस्या र सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुग्ने लगायत्का गुनासा आउने गरेकाले त्यसलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीले एक जना सम्पर्क अधिकारी लैजानु पर्ने कानुनी व्यवस्था छ ।