नर्थ क्यारोलाइनामा सातौँ ‘नेपाल डे’ भव्य रुपमा सम्पन्न

मोरिस्भिल नर्थ क्यारोलाइना  :  १५ अप्रिल शनिवारका दिन नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन.सी.एन.सी) द्वारा अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा सातौँ नेपाल डे भव्यताका साथ आयोजना गरिएको छ। टाउन अफ मोरिस्भिलका मेयर टि. जे. कउली तथा नर्थ क्यरोलाइना राज्यका एशियाली मूलकी संसद सदस्य मारिया सर्भानियाद्वारा संयुक्त रूपमा उदघाटित उक्त कार्यक्रममा विशेष अतिथि स्टेट सेक्रेटरि इलेन मार्शल, वेक काउन्टीका कमिस्नर सेरिल स्टलइन्ग्स, टाउन अफ मोरिस्भिलका पूर्व मेयर मार्क स्टलम्यान, उपमेयर लिज़ जोन्सन, काउन्सिलम्यानद्वय स्टीव राव तथा सतिश गरिमेला लगायतका सरकारी प्रतिनिधिहरुको उपस्थिती थियो। एन.सी.एन.सी. का अध्यक्ष आर. पी. पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन ए. आइसीसीका महासचिव डा. केशव पौडेल, नेपालका पूर्व सांसद ऋषिकेश तिवारी लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा आगन्तुक वक्ताहरूले नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रम आयोजना गरेकोमा एन.सी.एन.सीलाई धन्यवाद दिएका थिए l

करिब १२ सय सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवात पन्चकन्या र कुमारी सहितको सांस्कृतिक झाँकी एवं विभिन्न नेपाली परम्परागत भेषभूषामा सजिएका सहभागीहरुको परेड मार्फत भएको थियो। स्थानीय मोरिसभिलस्थित चर्च स्ट्रिट पार्कमा आयोजित सो कार्यक्रममा विविध नेपाली परिकारका स्टलहरुका साथै स्थानीय व्यवसायी तथा विभिन्न गैरसरकारी संस्थाहरुको स्टल समावेश थियो। नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपाली मूलका विद्यार्थी स्वागत अधिकारीलाई $१५०० राशीको सुजनपरिता छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रममा नेवारी बौद्ध समुदायको परम्परागत चर्या नृत्यसँगै विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

नर्थ क्यारोलाइनावासी नेपालीहरुको अपार उपस्थितिले सातौँ नेपाल डे लाई भव्य रूपमा सम्पन्न गर्न मद्दत गरेको छ। यो उपस्थितिले हामीलाई आगामी दिनहरुमा हाम्रा कार्यक्रमहरुलाई अझै सशक्त र प्रभावकारी बनाउने प्रेरणा मिलेको छ।’ एन.सि.एन.सिका महासचिव डा. विकास शाक्यले भने, ‘विगतका नेपाल डे मा भन्दा बढी गुणस्तरीय एवं व्यवस्थित कार्यक्रम पस्कन सकेकामा हामी गौरवान्वित छौं। ’ कार्यक्रम सफल बनाउनका निम्ति सबैले दिएको सहयोगप्रति आभारी रहेको पनि आयोजकले जनाएको छ। ‘प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल परेड गर्दै आएको हो’ एन.सि.एन.सिका अध्यक्ष आर.पी. पौडेलले भने, ‘यस किसिमको कार्यक्रमले प्रवासमा जन्मेका नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने छ।’ अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना, क्यालिफोर्निया लगायतका राज्यहरुमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ।

कार्यक्रममा आयोजक कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली समुदायले आरटीपी क्षेत्रको विविधता र विकासमा ठूलो योगदान दिएको बताउनुभयो। कार्यक्रममा युवा नेतृ हिसी उलकले अमेरिकी विश्वोविद्यालयमा दक्षिण एशियाली मूलको विद्यार्थी नेतृका रूपमा आफ्ना अनुभव र चुनौतीका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

पाल सेन्टर अफ नर्थ क्यारोलाइना सन् १९९९ मा स्थापना गरिएको संस्था हो । नेपाली संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका साथै नेपालमा रहेका र यहाँका बासिन्दाहरू बीचको सहकार्यलाई सहजीकरण गर्ने पनि यसले उद्देश्य राखेको छ । नर्थ क्यारोलिनामा नेपाली समुदायले विगत सन् २०१७ देखि मनाउदै आएको नेपाल डे परेड कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अप्रिल महिनाको तेस्रो शनिबारको दिन ”नेपाल डे” को रुपमा मान्यता दिंदै आएको छ।