लघुकथा -परिवर्तन : ओमकुमारी बन्जारा रानाभाट

नवीन र धिरज एकै अफिसमा सँगै काम गर्ने साथी हुन्। दुवैजना परिवार सहित धेरै पटक देशदेखि विदेशसम्म छुट्टी मनाउन निक्लन्थे।
यतिखेर भने गफैगफमा छुट्टीको दिन दुवै जना आ- आफ्ना श्रीमतीसँगै लिएर हाइकिङ जाने निर्णय गरे।

हाइकिङ शनिबार बिहान नास्ता खाएपछि शुरु भयो। नवीनको श्रीमती थोरै हिँड्ने बित्तिकै थाक्नेरहिछिन्। हिँड्न हम्मेहम्मे परिरहेको थियो। धिरजको श्रीमती भने हलुको चालले लमकलमक गर्दै अघिअघि हिँड्दैथिइन्। नवीन र धिरजले पछ्याउनै गार्हो। धिरजले नवीनलाई भने ” भाउजुको हिँड्ने प्राक्टिस नै छैन कि क्याहो? भाउजु हिँड्नै सक्नुहुँदोरैनछ। तिमीले भाउजुलाई बिहान आफूसँग मर्निङ वाकमा लाँदैनौँ? ” नवीनले हाँस्दै भने ओहो धिरज “खाना कस्ले पकाउँछ? केटाकेटीलाई तयार पारेर स्कुल पठाउनु नि पर्यो। मेरो लुगा आइरन, जुत्ता पोलिस कसले गर्दिन्छ र मैसँग वाकिङ लाने भन्छौ यार तिमी? ” त्यति काम त भाउजुलाई भ्याइनभ्याइ हुन्छ।

जिनतिन आधाअधूरो हाइकिङ सकेर घर पुगेपछि नवीनको श्रीमती बेस्सरी थला परिन्। आफ्नो हालत देखेर ऊनी गहिरो चिन्तनमा परिन् । ” धिरजको श्रीमतीकाझैँ किन हिँड्न सकिँन म? आखिर एकै सालमा जन्मका रहेछौँ ऊनी र म। कस्तो खाइलाग्दो ज्यान.. अनुहार पनि धपक्क बलेको छ उनको? मेरो अनुहार चाउरिइसक्यो। उनकाझैँ हाइकिङमा हिंड्न पनि सकिँन। ऊनी भन्दा म कमजोर किन? ऊ भन्दा बुढी पनि देखिन्छु छ्या म त।”

“बिहान एक घण्टा आफ्नो लागि समय निकाल्नुपर्छ ” सँगै हिड्दा धेरै पटक धिरजको श्रीमतीले भनेको कुरा मनमा झट्ट याद गर्छिन्। हैट् अब सन्चो भएपछि “बुढासँग म पनि मर्निङ वाक जान्छु ।” नवीनको श्रीमतीले अठोट गरिन्।

केही दिनमा नवीनको श्रीमती ठिक भइन्। ऊनी सबेरै उठिन्। घरको काम सर्लक्क भ्याइन र श्रीमानलाई उठाइन्। सधैँ भन्दा फरक पोसाकमा आफू नजिकै उभिएकी श्रीमती देख्दा नवीन दङ्गदास परे। “लौनुहोस् हजुरलाई पनि ट्राकसुट ल्याइदिएकी छु। छिटो लगाएर निक्लनू म बाहिर कुरिरहेकी छु।”
श्रीमानसँगै लगातार मर्निङ वाक जान थालेदेखि नवीनको श्रीमती हँसिली, रसिली, बलशाली उजेली, फूर्तिली, निरोगी हुन थालेकीछिन् यता श्रीमतीमा छाएको खुसी देखेर नवीन तीनछक…।

ओमकुमारी बन्जारा रानाभाट
काठमाडौं, नेपाल