एप्स एक सुबिधा अनेक

 

‘काम लाग्ने कुरा, इच्छा हुन्छ पुरा’ भन्ने नाराका साथ भर्खरै सार्वजनिक भएको ‘काम लाग्ने कुरा’ एप्लिकेसन नेपालीहरूको लागि अतिउपयोगी एप्लिकेसन हो ।

दैनिक जीवनमा उपयोग हुने धेरै कुराहरू समावेश गरिएको यस एपभित्र कोरोना लाइभ अपडेट, हाम्रो पात्रो, दैनिक राशिफल, पञ्चाङ्ग, राशिफल ज्ञान, विभिन्न एफएमहरू, सुनचाँदीको भाउ, तरकारीको भाउ, मिति परिवर्तन, नेपाली युनिकोड, युनिकोड टु प्रीती, विनिमय दर, क्युआर स्क्यानर, हस्पिटलका महत्त्वपूर्ण नम्बरहरू, भूमी, तौल तथा मात्राको मापन सम्बन्धी ज्ञान तथा आधा दर्जन विभिन्न प्रकारका खेल (गेम) समेत समावेश गरिएको छ ।

मौसम सम्बन्धी जानकारी, सेयर बजारको लाइभ अपडेट, साहित्य, हाम्रो क्विज जस्ता अन्य फिचरहरू पनि छिट्टै नै ल्याउने तयारी गरिरहेको यस एपलाई कलाकार तथा लेखक जीवनराज दाहालले निर्माण गरेका हुन् ।

“समय सान्दर्भिक भएसम्म दिनप्रतिदिन अझै दैनिक जीवनमा काम लाग्ने अन्य कुराहरूपनि अपडेट गर्दै जानेछौँ ।” यसै एपका निर्माणकर्ता दाहाल भन्छन् ।

जीवनले केही वर्ष अघि आफैले लेखेको पुस्तक ‘नेपालका चर्चित हाँस्यकलाकारहरू’ लाई एपमा बनाएका थिए । त्यस्तै उनले लकडाउनका कारण स्कुल गएर पढ्न नपाएका विद्यार्थीलाई लक्षित गर्दै केही समय अघि ‘नेपाली व्याकरण र रचना’ नामक एप्लिकेसन सार्वजनिक गरिसकेका छ्न् । जुन एप्लिकेसन धेरै पटक इन्स्टल भइसकेको छ । जीवनले हालसम्म पाँच दर्जनको हाराहारीमा विभिन्न प्रकारका एप्लिकेसनहरू निर्माण गरिसकेका छन् ।

अब धेरै कामको लागि धेरै प्रकारका एपहरू इन्स्टल गरिरहनु पर्दैन । एउटै एपमा सबै कुरा भएको यस एपलाई नेपाली एप्स घरले प्लेस्टोरमा सार्वजनिक गरेको हो । ८ एम.बि. रहेको यस एप हाल एन्ड्रोइड भर्सनमा उपलब्ध छ ।