
जब
मात्र आँखाको संवाद हुन्छ र
आँखैआँखाले विदाको अनुमति मागिन्छ
चुपचाप–चुपचाप मन चिसो भइजाँदो रहेछ ।
हल्लिदिने हातहरु थिए
न्यानो बनाइदिने अंकमालहरु थिए
‘बाई !’, भनी सुस्केरा हालिदिने संवाद थिए ।
खै किन ?
यि सब गौण भईदिए
आफै मौन भईदिए ।
एकै पटक फर्किन पनि
गाह्रो हुँदोरहेछ
मुटु साह्रो हुँदोरहेछ
आफ्नै खुट्टाहरु
आफ्नो होइनन् झैं लाग्दोरहेछ ।
लम्किरहने पाइलाहरु
चिसो मन त्यतै छोडी लम्किदोरहेछ ।
मनै छुटेपछि
खै ! अब कसरी पो आफुलाई
‘म नै हुँ’ भनेर भन्दो हुँ ।।
इँगिहोपो कोँइच सुनुवार
२०७८।०२।०६
