पूर्व उपकुलपति प्रा. महेश कुमार उपाध्यायको आत्मकथा सार्वजनिक

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. महेश कुमार उपाध्यायको आत्मकथा ‘स्मृतिका रेखाहरु’ शुक्रबार एक कार्यक्रमका बीच विमोचन भएको छ । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री  माननीय देवेन्द्र पौडेलले सो पुस्तकको विमोचन गरेका हुन् । । ललितपुरको मानभवन स्थित लुम्बिनी इन्टरनेशनल एकेडेमी फर साइन्स एन्ड टेक्नोलोजी (लायष्ट) कलेजको सभा हलमा एक भव्य समारोहका बीच सो पुस्तक सार्वजनिक गरिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाका साथै पूर्वान्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.तोरण बहादुर कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो पुस्तकको समिक्षा प्रा. मोहन लोहनी र प्रा.डा. बिना पौडेलले गरेका थिए। आफ्नो जीवनका अनुभवहरुलाई पाठकहरु समक्ष बाँड्ने उदेश्यले ९१ बर्षिया प्रा.महेश कुमार उपाध्यायले धेरै महिना र वर्षको मिहिनेत पछि यो पुस्तक तयार पार्न सफल भएको बताइएको छ । यस आत्मकथाका लेखक श्री उपाध्याय पूर्व परराष्ट्रमन्त्री शैलेन्द्र कुमार उपाध्यायका सहोदर भाइ हुन् । शैलेन्द कुमार उपाध्यायको ८२ बर्षको उमेरमा सगरमाथा आरोहण गर्ने सबैभन्दा ‘जेष्ठ व्यक्ति’को रेकर्ड कायम गर्ने कोशिसको क्रममा सन् २०११ को मे महिनामा सगरमाथाको खुम्बु क्षेत्रमा निधन भएको थियो । पुस्तकमा उनी संगका यादहरुलाई पनि जोड्ने कोशिस गरिएको छ ।
पुस्तक आजैदेखि बजारमा उपलब्ध हुने कुरा जनाइएको छ ।