

भूमिकला पौडेल
काठमाडौं: नेत्रहीन महिला संघ, नेपालको आयोजनामा “अपाङ्गता भएका महिलाहरूको आर्थिक अधिकार प्रवद्र्धन, वित्तिय न्याय र समावेशिकरणका लागि सरोकारवाला र पत्रकारहरू बिच अन्तरक्रिया कार्यक्रम” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका महिलाहरूको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धन गर्न तथा उनीहरूको न्यायमा पहुँच पुगोस र अपाङ्गता भएका महिलाहरूको सवालहरू सबै क्षेत्रमा समावेशकरणका लागि सबै पक्षको ध्यानाकर्षण होस भन्ने उद्धेश्यले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रूपमा रहनु भएका प्रतिनिधी सभाका माननिय सदस्य डा. तोसिमा कार्कीले अपाङ्गता भएका महिला तथा व्यक्तिहरूका लागि संविधान लगायतका कानुनी प्रावधानहरूले उनीहरूले पाउनु पर्ने सेवा, सुविधा तथा हकअधिकारहरू सुनिश्चित गरेको भएता पनि त्यसको कार्यान्वयन नहुँनाले उनीहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताइन । यसका साथै उनले यस सम्बन्धी आवाज उठाउँन तथा समस्या संवोधन गर्न अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै आयोग अर्थात अपाङ्गता सम्बन्धी आयोगको आवश्यकता रहेको बताइन ।
कार्यक्रममा विशिष्ठ अतिथीको रूपमा नेपाल राष्ट्र बैंकका उपप्रवक्ता नारायण प्रसाद पोख्रेल तथा युवा तथा साना व्यावसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोका (कल्याण) रहेका थिए । विशिष्ठ अतिथीको रूपमा बोल्दै डा. रोकाले राज्यको निति, नियम तथा वित्तिय बजेट उचित लक्षित वर्गहरूलाई समेट्ने खालको भन्दा पनि अरू वर्ग तथा क्षेत्रहरूमा नै वढि केन्द्रित भएकोले अपाङ्गता लगायतका विशेष प्राथमिकता दिएर सेवासुविधा दिनुपर्ने क्षेत्रमा चाहेर पनि काम गर्न नसकिरहेको गुनासो गर्दै यसको लागि नितिगत रूपमा नै परिवर्तन आवश्यक रहेको बताए । त्यसैगरी अतिथीको रूपमा बोल्दै महिला तथा बालबालिका विभागका निर्देशक निरा अधिकारीले अपाङ्गता भएका महिलाहरू पनि रोजगारी तथा स्वरोजगारी मार्फत आत्मनिर्भर हुन सक्छन् र यसको लागि अवसरको खाँचो रहेको बताएका थिए ।
कार्यक्रममा सभापतित्व ग्रहण गर्दै नेत्रहीन महिला संघ, नेपालका अध्यक्ष, सिता सुवेदीले अपाङ्गता भएका महिलाहरूलाई रोजगारी तथा स्वरोजगारी गर्नका लागि विभिन्न समस्या तथा चुनौतीहरू भएकोले त्यसलाई समाधान गर्नका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताइन । त्यसैगरी उनले आर्थिक सशक्तिकरण नभएसम्म अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पुग्न सक्दैन । त्यसैले यो सवाललाई सबै पक्ष तथा क्षेत्रमा समावेशिकरण गर्नका लागि सबै सरोकारवाला, सञ्चारकर्मी तथा पत्रकारहरूले पनि पहल गर्नका लागि अनुरोध पनि गरिन ।
यस अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका महिला तथा अभिभावकहरूले रोजगारी तथा स्वरोजगारीसँग जोडिएका तथा आफूले भोगेका समस्याहरू बारे उजागर गर्दै राज्यले आफूहरूलाई साँच्चै नै उपेक्षा गरेको वा राज्य भएको नै महसुस नभएको पीडा पोखे । कार्यक्रमको सहजीकरण नेत्रहीन महिला संघ, नेपालका महासचिव अनिता सिग्देलले गरेकी थिइन् । यस अन्तरक्रिया कार्यक्रमलाई सफल पार्नका लागि ओपन सोसाईटी फाउण्डेशन, एलायन्स फर सोसल डायलगले सहयोग गरेको हो ।
