देशभर करिब पौने ५ लाख घर खाली, पहाडमा धेरै

फाइल तस्वीर
काठमाडौं : नेपालमा देशभर करिब पौने ५ लाख घर खाली अवस्थामा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसारमा नेपालमा ७५ लाख ५२ हजार ६६ घरमध्ये ४ लाख ७२ हजार ५ सय १६ (६.३ प्रतिशत) घर खाली देखिएका छन् ।

जनगणना विवरण अनुसार खाली घरमध्ये पहाडमा आधाभन्दा धेरै देखिन्छन् । पहाडी क्षेत्रमा २ लाख ६० हजार ९ सय १६ (५५.२ प्रतिशत) घर खाली छन् । यस्तै हिमालमा ५९ हजार ९४२ (११.७ प्रतिशत) घर खाली भने तराईमा १ लाख ५१ हजार ६५८ (४.१ प्रतिशत) घर खाली छन् ।

पालिका अनुसार हेर्ने हो भने नगरपालिकामा खाली घरको संख्यामध्ये २ लाख ५७ हजार ११२ (५.४ प्रतिशत ) घर खाली छन् भने गाउँपालिकामा २ लाख १७ हजार ४ सय ३६ (४६ प्रतिशत) घर खाली देखिन्छन् ।

प्रदेश अनुसार खाली घर मध्ये सबैभन्दा धेरै घरखाली बागमती प्रदेशमा देखिन्छ । जहाँ ३० दशमलव २ प्रतिशत घर खाली छन् । सबैभन्दा कम मधेश प्रदेशमा ४ प्रतिशत घर खाली देखिन्छ ।