चैत १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘ २४ औं फ्लोरा एक्स्पो ’ हुने

निराज रानाभाट
काठमाडौं : ‘ २४ औं फ्लोरा एक्स्पो ’ चैत १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपकाे प्रदर्शनी हलमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना उक्त एक्स्पो शुरू हुन लागेको हो। एक्स्पोमा पुष्प विकास केन्द्र, वाग्मती प्रदेश सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयकाे आर्थिक सहयोग रहेको छ। मेलाको नारा ‘ स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने रहेको छ। ४ दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न पुष्प नर्सरी, फर्म र संघसंस्थाहरुको सहभागिता सहित करिब ८० वटा स्टल रहने छन् , भने करिब ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री हुने छन् ।

एक्स्पोमा मौसमी फूल, आधिकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ। मेलामा नर्सरी व्यवसायीहरूद्वारा उत्पादित आलंकारिक फूल बिरुवाहरू, मौसमी फूल, स्टल सजावट, पुष्प सजावट, बगैंचा सजावट जस्ता उत्कृष्ट विधाहरुमा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने एसोसिएसनले बताएको छ ।

प्रदर्शनीमा पुष्प उद्यमी / व्यवसायी तथा कम्पनीहरुको लागि पुष्प तथा पुष्पजन्य वस्तुको आफ्नो बजार प्रबर्द्धन गर्ने सुनौलो अवसर , विभिन्न प्रकारका फूल बिरुवाको एकै थलोमा अवलोकन तथा खरिद गर्ने अवसर, सूचना तथा नयाँ प्रविधिको क्षेत्रमा भएको प्रगतिको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्प सम्बन्धि नयाँ – नयाँ निकास भएका उत्पादनहरुलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर हुने छ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुचि राख्ने तथा यस सम्बन्धि ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति ‘ २४ औं फ्लोरा एक्स्पो ’ उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास छ। पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ। अन्तराष्ट्रिय स्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुने छ । फ्लोरिकल्चर एशोसिएसनले वि.सं. २०५१ सालदेखि पुष्प प्रदर्शनी तथा व्यापार मेला संचालन गर्दै आइरहेको छ। ​