

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार पाएर उनी उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन्। चौथो कार्यकालका लागि यादव तेस्रो उपराष्ट्रपति बनेका हुन्।
उपराष्ट्रपति निर्वाचित हुने उनी दोस्रो मधेसी समुदायका व्यक्ति हुन्। यसअघि मधेसी समुदायबाट २०६५ मा परमानन्द झा पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।
को हुन् उपराष्ट्रपति यादव ?
लामो समय शिक्षण पेशामा बिताएका यादव मधेश आन्दोलनबाट अझ माथि उठेका नेता हुन्। शिक्षक आन्दोलनबाट राजनीतिक जीवनको सुरुआत गरेका यादव मधेशमा मधेशी समुदायलाई आफ्नो अधिकारका पक्षमा लड्नका निम्ती लामो समय योगदान दिएका व्यक्ति हुन्।
मिलनसार स्वभाव र समय अनुसार दृढ अडान लिन सक्ने नेताका रुपमा चिनिने रामसहाय यादव मधेस आन्दोलनको नेतृत्व गर्ने थोरै नेतामध्ये एक व्यक्ति हुन्। सानैदेखि कम्युनिष्ट राजनितिबाट प्रभावित उनी बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशा गरेका थिए। उनलाई मधेशका माड्साबका रुपमा समेत चिन्ने गरिन्छ।
विज्ञान र गणितमा अब्बल रहेका यादव २०४८ सालमा अस्थायी शिक्षकको रूपमा पन्नादेवी कन्या माविबाट पढाउन थालेका हुन्। १२ वर्षसम्म अस्थायी शिक्षक भएर पढाएका यादवलाई स्थायीमा नाम निकाल्नका लागि परिवारले निरन्तर दबाब दिँदै आएका थिए। परिवारले खर्च गरेर भए पनि स्थायीमा नाम निकाल्न दबाब दिइरहदा पनि उनले परिवारको त्यो सोच पुरा हुन दिएनन्। तर २०६० सालमा आएर उनले आफ्नै मेहनतले स्थायी शिक्षकमा नाम निकाल्न सफल भए।
भूमिगत राजनितिका क्रममा उनलाई क.चन्द्र गुप्तका नामले समेत चिन्ने गरिन्थ्यो। शिक्षक रहेकै बखत् अर्ध भूमिगत राजनीतिमा समेत त्यतिकै सक्रिय रहेका उनी विज्ञान (साइन्स) विषय पढेका व्यक्ति हुन्। मधेश आन्दोलनको बेला मास्टरी पेशाबाट राजिनामा दिएर उनले मध्य तराइमा मधेश जनविद्रोहको नेतृत्व लिएका थिए।
मधेश राजनीतिमा स्वच्छ तथा इमान्दार छविका नेताका रुपमा मानिनेन उनी मधेशमा लोकप्रिय नेता समेत मानिन्छन्। सडक संघर्षका नायक भनेर समेत चिनिने यादव मधेश आन्दोलनपछि बनेका प्रायः सबै सरकारहरुमा मधेशका सबै नेताहरु मन्त्री लगायतका पदमा पुगेपनि उनी भने लाभको पदमा त्यति लिएका छैनन्।
बारा कचोर्वा -८ बसवरियामा २०१७ सालमा बुवा स्व.प्रसाद राय यादव र आमा स्व.सिहवा देवी यादवका कान्छो छोराका रुपमा जन्मिएका हुन्। उनका दुई दाजुभाई तथा तिन दिदि बहिनि छन्। उनका दाजु रामधारी यादव समेत रिटायर्ड शिक्षक हुन्। भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा संकायमा स्नातक गरेका यादवले प्राथमिक तहको शिक्षा भने आफ्नै गाउको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय बसवरियाबाट सुरु गरेका थिए। ३ कक्षासम्म त्यो स्कूलमा पढेपछि ४ कक्षादेखि ७ कक्षासम्म कचोर्वा स्थित जनता निमावीमा उनले पढेका थिए। उनले कक्षा ८ देखि एसलएलसी सम्मको शिक्षा भने सिम्रौनगढ स्थित कंकाली माविबाट पास गरेका हुन्।
सीतामढी कलेजबाट यादवले आइ.एस.सि. देखि बी.एस.सी.सम्मको पढाई पुरा गरेका यादवले कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा बिज्ञान र गणित बिषयको शिक्षण गर्ने काम गरेका हुन्।
नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादव युवा आवस्थादेखि नै क्रान्तिकारी स्वभावका थिए। लामो समय शिक्षण पेशा गरेका यादव वि.सं. २०४७ सालमा नेपाल सदभावना पार्टीको नेपाल शिक्षक संगठनमा आवद्ध भएर राजनीतिक जीवनको सुरुआत गरेका हुन्।
नेपाल सद्भावना पार्टीको विभिन्न महाधिवेशनमा महत्वपूर्ण भूमिका खेलेका यादव २०५७ सालमा संविधानको नागरिकता विधेयकको विरोधका क्रममा काठमाडौंमा सहभागि हुँदा गिरफ्तारीमा परेका थिए। २०५९ सालमा नेपाल सदभावना पार्टीको पाँचौ महाधिवेशन राजविराजमा पार्टी भित्रको एकता कायम राख्न सप्तरी सेवा आश्रममा आमरण अनसन समेत बसेका थिए। उक्त समयमा आनन्दी देवी द्वारा अनसन तोड्न लगाएर आनन्दी देवीको नेतृत्वमा नेपाल सदभावना पार्टी (आनन्दीदेवी) गठन गरिएको थियो।
वि.सं. २०५९ सालमा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका यादव २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजन (अध्यक्ष) भएका थिए भने २०६० सालमै पटना बैठकद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।
वि.सं. २०६२/०६३ को जनआन्दोलका क्रममा काठमाडौंमा गिरफ्तार भएका यादवले २०६२/०६३ सालमा मधेश जन विद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतत्वको जिम्मेवारी गरेका थिए। उक्त आन्दोलनको क्रममा ५/६ पटक गिरफ्तार भएका थिए।
२०६४ साल निर्वाचन आयोगमा मधेसी जनअधिकार फोरम, नेपाल पार्टी दर्ता भएपछि केन्द्रीय सदस्य भएका थिए।
वि.सं. २०५७ सालमा पार्टी अध्यक्ष गजेन्द्रनारायण सिंह नागरिकताको मुद्दा उठाएर काठमाडौंको भद्रकालीमा अनशनमा बसेका बेला उनी बारा जिल्लाबाट काठमाडौं आएर अनसनमा सहभागी भए। अनसनमा आउन आफूसँग पैसा नभएकाले उनले विद्यार्थीको जुत्ता र कपडा मागेर २५० रुपैयाँ पैसा सापटी लिएर अनसनमा सहभागी भएका थिए उनी।
सोही आन्दोलनले उनलाई गजेन्द्रनारायण सिंहसँग भेट गरायो। आन्दोलनका क्रममा प्रहरीसँग झडप भएपछि गजेन्द्रनारायणलाई जोगाउन उनी घेरा हालेर बसेका थिए। सिंहसँगको फोटो पत्रपत्रिकामा आएपछि उनको चर्चा भएको थियो।
२०६४ सालमा शिक्षकबाट राजीनामा दिएका यादवले घरपरिवार र विद्यालयले उनलाई राजीनामा नदिन भनिरहेका बेला उनी भने राजिनामा दिएर आन्दोलनमा होमिए। समानुपातिकको बन्द सूचीमा नाम भएकाले शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका उनी २०६४ को संविधानसभाको चुनावमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनको नाम समानुपातिक सूचीमा थियो। तर उनी सदस्य हुन भने पाएनन्।
वि.सं. २०७२ साल मधेसी जनअधिकार फोरम, नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम, नेपालको महासचिव भएका यादव सोही वर्ष २०७२ मधेस आन्दोलनमा निषेधाज्ञा तोडने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाईते भएका थिए।
वि.सं. २०७४ सालको निर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादव वि.सं. २०७५ सालमा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव भएका थिए। वि.सं. २०७६ सालमा समाजवादी पार्टी र रास्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका उनी वि.सं. २०७८ साल बन तथा वातावरण मंन्त्री बनेका थिए।
वि.सं. २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बारा २ बाट निर्वाचित भएका यादव त्यसपछि जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता निर्वाचित भएका थिए।
