

काठमाडौं: उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ ।
उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् । प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नामसमेत राखिएको छ।
जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन छ। जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ बमोजिम कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नुपर्नेछ। उक्त व्यवस्थाअनुसार निर्वाचक मण्डलको कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ।
