महानगरले हटाउन सकेन् सुकुम्बासीः पन्छिन खोज्दै मेयर बालेन र प्रहरी प्रमुख पाण्डे !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र महानगर प्रहरी प्रमुखलाई काठमाडौंबासीको प्रश्न,‘महानगरले सुकुम्बासी भनिएका हुकुम्बासीहरुलाई हटाउन नसकेकै हो ? बालेनको डोजर थन्किएकै हो ?’ थापाथली किनारमा वर्षौंदेखि सरकारी जग्गा हड्पेर अनधिकृत संरचना बनाएर बसोबास गर्ने काम भइरहेको छ । ठूल्ठूला महल भएका, हात र गलामा टन्न सुन लगाएका, मँहगा गाडी चढ्नेहरु त्यहाँ बस्छन् । सरकारलाई दबाब दिएर सो जग्गा आफ्नो नाममा ल्याउने अनि ल्याप्पै खाने यिनीहरुको योजना हो ।

विगतदेखि वर्तमानसम्म यही प्रवृत्ति देखिँदै आएको छ । छोराछोरी डाक्टर छन् तर म सुकुम्बासी हुँ भन्दै हिँडेका छन् । तिनलाई सरकारले के आधारमा सुकुम्बासी भन्ने ? सुकुम्बासी भनेर सरकारी जग्गा अतिक्रमण गर्न पाँइदैन् । बालेन र महानगर प्रहरी प्रमुख पाण्डेले सुकुम्बासी हटाउन यसअघि कोशिस गरेका थिए । गत मंसिर १२ गते सुकुम्बासी बस्तीमा डोजर लिएर पुगेका उनीहरुले केही उपलब्धि हासिल गर्न सकेनन् । थापाथली किनार रणभूमिमा परिणत भएपछि त्यहाँबाट महानगर प्रहरीको टोली फर्कियो ।

तर, त्यसपछि सुकुम्बासी हटाउन कुनै पहल गरिएन्, किन ? बालेन र प्रहरीको टोली सेलाउनुको कारण के ? कि त बालेनले राजनीतिक दलबाट आएको दबाब खेप्न नसकेको हुनुपर्छ । कि उनलाई पनि डरले सतायो । आफूलाई केही गरिहाल्ने पो हो कि भन्ने भयले उनी पछि हटेको हुनसक्ने अनुमान लगाउनेहरु पनि छन् । त्यति नै अप्ठ्यारो परेको हो भने बालेनले पत्रकार सम्मेलन गरेर आफ्नो मतदातालाई सुचित गराउनुपर्यो । मतदातासंग सुकुम्बासी हटाउन नसकेकोमा माफी माग्नुपर्यो ।

पदमा बसेपछि धम्की आइरहन्छन्, जुन स्वाभाविकै हो । काम गर्दा साथ दिने पनि आउँछन्, खुट्टा तान्ने पनि उत्तिकै हुन्छन् । भएका अप्ठ्यारा चिर्दै जनताको काम गर्ने मात्रै सच्चा राष्ट्रसेवक हुन् । बालेनसंग अब दुइटै मात्र उपाय छन् । कि त काठमाडौंबासीको सामु आत्मसर्मपण गर्नुपर्यो कि डोजर लिएर सुकुम्बासी बस्तीमा पुग्नुपर्यो । प्रहरी प्रमुख पाण्डेले वाहवाह पाउने थुप्रै काम गरेका छन् । उनको धेरैजसो काम प्रशंसायोग्य छ । तर, अहिले आएर उनी पनि सेलाए ।

उनी सेलाउँदा सुकुम्बासी भनिएका हुकुम्बासीहरुको मनोबल बढेको छ । सरकारी जग्गा कब्जा गर्ने छुट कसैले पनि नभएकाले त्यो तत्काल भत्काइनुपर्छ । आज एउटा भोलि अर्को गर्दागर्दै यसले विकराल रुप लिन्छ । पाण्डे आफ्नो टोली लिएर सुकुम्बासी हटाउन जान ढिलो भइसकेको छ । जनताले तिरेको करबाट तलब खाने, जनताका लागि काम गर्छु भन्दै कसम खाने अनि राज्यको ऐनकानुनलाई धोती लगाएर सरकारी जग्गा मिचेकालाई छुट दिने । खोइ त राष्ट्रका लागि काम गरेको ?

पाण्डेले कि सुकुम्बासी हटाउनुपर्यो कि नैतिकताका आधारमा राजीनामा दिनुपर्यो । काम गरेर देखाउन नसक्नेले पद मात्र ढाँक्नुको कुनै औचित्य छैन् । सुकुम्बासी बस्ती हटाउन जाँदा त्यहाँ हानाहान भएपछि महानगर प्रहरीको टोली त्यहाँबाट भाग्यो । महानगर प्रहरीको टोलीले त्यतिखेरै हात उठाइसकेको थियो । देश र जनताको लागि काम गर्ने व्यक्ति बरु मर्न तयार हुन्छ । तर, महानगर प्रहरीको टोली एकदुई थप्पड खानेबित्तिकै त्यहाँबाट कुलेलम ठोकिहाल्यो । महानगर प्रहरी असक्षम रहेछ भन्ने त यहाँबाट स्पष्ट भइसकेको छ ।

महानगरपालिकाले सुकुम्बासी हटाउनका लागि गृह मन्त्रालयसंग सुरक्षा माग गर्यो । गृहले साथ दिएन् भन्दैमा आफ्नो काम नै छोडिदिने ? यो त भएन् नि । देशभरका जनताले साथ दिएका छन् । काठमाडौंबासी बालेनको पाइलासंग पाइला हिँडिरहेका छन् । अनि बालेन किन डराउने ? महानगर प्रहरीको टोली किन पछि हट्ने ? गर्न लागेको काम पुरा गरेर छाड्औं । बीचमा छोड्दा उनीहरुको थप मनोबल बढ्छ । कि २४ घण्टाभित्रमा सुकुम्बासी हटाउनुपर्यो कि काम गर्न सकिनँ भन्दै बालेन र पाण्डेले राजीनामा दिए हुन्छ ।

खोलाको छेउमा टहरा हालेर बस्दा काठमाडौंको सुन्दरतामा ह्रास आएको छ । उनीहरुको कारणले खोला फोहोर भएको छ । यो हेर्नलाई धेरै टाढा जानुपर्दैन् । बाग्मती किनार गए छर्लङ्ग देखिन्छ । सुकुम्बासीलाई हटाएर खोलाको छेउछाउ पार्क बनाउनुपर्छ । वृक्षरोपण गर्नुपर्छ । अनि काठमाडौं सुन्दर देखिन्छ । मान्छेहरुलाई आराम गर्ने ठाँउको व्यवस्थापन पनि हुन्छ । तर, मेयर नै पछि हटेपछि कसको के लाग्छ ? बालेन सुकुम्बासीदेखि थरथरी भइहाल्छन्, महानगर प्रहरीको टोली त्यहाँ जाने आँट नै राख्दैनन् ।

महानगर प्रहरीको टोलीले सुकुम्बासी हटाउन नखोजेका होइनन् । उनीहरुले कोशिस गरे तर असफल भए । उल्टै चुटिएर आए । त्यतिमै उनीहरुको आत्मबल गिर्यो । खेल मैदानमा उत्रिएको खेलाडी कि त जित्छ कि हार्छ । हार्यो भन्दैमा खेल्न छोड्यो भने त उसको कोशिस नै खेर जान्छ । ऊ फेरि उठ्छ र खेल्छ । सफलता हासिल गर्छु भनेर हिँड्ने व्यक्ति मात्र सफल हुन्छन् । सफलता खोज्दा विभिन्न अड्चन आइपर्छ । त्यसलाई चिर्दै अघि बढ्नुपर्छ । तर, महानगर प्रहरीको यो देखिएन् ।

एकाध थप्पड र ढुंगा खाएका महानगर प्रहरीले त्यसपछि त्यहाँ जाने हिम्मत नै देखाएनन् । एकचोटि मै महानगर प्रहरीको टोली शिथिल बन्यो । अब पनि महानगर हात बाँधेर बस्ने हो भने यहाँका स्थानीय खटिने छन् । यहाँका स्थानीय बासिन्दाहरुले सुकुम्बासी हटाउने छन् । सुकुम्बासी भन्ने जे मनलाग्यो त्यही गर्ने । सुकुम्बासीका कारण यहाँका स्थानीयलाई सास्ती भएको छ । जाँडरक्सी खाने, होहल्ला गर्ने, अपशब्दको प्रयोग गर्ने, दिनदिनै कुटाकुट र झगडा गर्ने । यस्तोमा कसरी बस्ने ?

काठमाडौं अहिले सबैभन्दा फोहोरी शहर बनेको छ । बाहिरी जिल्लाका बसोबासीहरु यहाँ आएर सरकारी जग्गा कब्जा गर्न मिल्छ ? आफ्नै जिल्लामा गएर सरकारी जग्गा अतिक्रमण गर्ने अनि जे मनलाग्छ त्यही गर्ने । यहाँको सरकारी जग्गामा यहीका स्थानीयको हक लाग्छ । बाहिरका मान्छे आएर यहाँ जथाभावी गर्न पाँउदैनन् । सुकुम्बासी भन्दैमा सबै सरकारी जग्गा कब्जा गरेपछि यहाँका स्थानीयहरु मर्कामा परेका छन् । कहीकतै बस्ने ठाँउ छैन् । सुकुम्बासीहरुले गाउँघरमा भएको आफ्नो रोपनीका रोपनी जग्गा बाँझो राखेका छन् ।

आफ्नो निजी घर भाडामा लगाएर अर्काको जिल्लामा आएर यहाँको बासिन्दाको हक मिच्न पाँउछन् ? यहाँको जनता सँधै टुलुटुलु हेरेर बस्छन् ? अब स्थानीय नै सुकुम्बासीको विरोधमा उत्रिन्छन् । अर्काको हक मिच्न मिल्दैन् । सुकुम्बासी हटाउनुपर्छ भनेर यहाँका स्थानीय नै सडकमा आउने छन् । महानगरपालिकाले नहटाएपनि आफ्नो अधिकारको संरक्षण स्थानीयले गर्ने छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहमा चुनावमा काठमाडौंबासीले बालेनलाई भारी मतका साथ विजयी गराए ।

राजनीतिक दलदेखि वाक्क भएका उनीहरुले मेयरमा बालेनलाई चुने । बालेनले पनि काम गरेर देखाए । जसका कारण काठमाडौंका जनताका मात्र होइन्, देशभरका जनताको शिर ठाडो बनेको छ । बच्चादेखि बुढासम्मले बालेनको कामको प्रशंसा गरेका छन् । राजु पाण्डेले पनि रातदिन नभनिकन खटिएर काम गरेका हुन् । यसअघि सुस्ताएको महानगर प्रहरीको टोली उनकै कारणले चलायमान बन्यो । ललितपुर र भक्तपुरको नगरप्रहरी हेरि काठमाडौंकाले धेरै राम्रो काम गरे ।

यो विषय एकदमै चर्चित पनि बन्यो । भक्तपुरको सूर्यविनायक नगरपालिकाका नगर प्रहरीहरु दिनभरि जुम्रा हेरेर बस्छन् । घाम तापेर बस्छन्, गफ गरेर दिन बिताउँछन् । तर, फुटपाथ हटाउनतर्फ यिनीहरुको ध्यान छैन् । जनताले तिरेको करबाट तलब खाने र लुगा लगाउने काम मात्र भइरहेको छ । हुन त त्यहाँको मेयर पनि त्यस्तै छन् । मेयर राम्रो भए पो नगर प्रहरी राम्रा हुन्छन् । जग्गा प्लानिङ गर्ने, कमिशन खाने । यो बाहेक मेयरले केही काम गर्दैनन् ।

ललितपुरको पनि त्यही नै हो । पहिले ट्राफिकमा हुँदा सीताराम हाछेथुले राम्रै काम गरेका थिए । अहिले त उनी पनि सुस्ताएकै छन् । त्यहाँका मेयर चिरिबाबु महर्जनले न सार्वजनिक जग्गा खोताले । न घरभाडाको मापदण्ड बनाए । केही पनि गरेनन् । तर, बालेनले त रिस मोलेरै काम गरेका थिए । उनी त आफैं फिल्डमा खटिएका थिए । अहिले आएर उनी सेलाए । उनी सेलाउँदा महानगर प्रहरी आलसतालस बनेका छन् । डोजर पनि थन्किएको छ ।

कि डोजरमा तेल हाल्ने पैसा महानगरपालिकासंग छैन् ? होइन् त डोजर निकाल्नुपर्यो । काम अघि बढाउनुपर्यो । अझै पनि गृहको मुख ताकेर बस्यो भने सुकुम्बासी हटाउन सकिँदैन् । गृहले काम गर्ने भएको भए बालेन किन चाहियो ? गृहले सुरक्षा दिनुपर्ने भए महानगर प्रहरीले किन जागिर खाएको ? गृहलाई देखाएर जनताको आँखामा छारो हाल्न पाँइदैन् ।

अनुसा थापा
भक्तपुर