त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जना उम्मेदवारी कायम

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १२ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार विभिन्न विद्यार्थी संगठनबाट ९ जना र स्वतन्त्र उम्मेदवार ३ गरी १२ जनाको उम्मेदवारी कायम भएको हो ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रुमकान्त केसी र क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट उम्मेदवारी दिएका विक्रम केसीले भने फिर्ता लिएका छन् ।

सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएको थियो । उक्त समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रा.रमेश श्रेष्ठले जानकारी दिए ।

चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६२ जनाको उम्मेदवारी कायम भएको छ ।

अध्यक्ष पदमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट प्रविन लाखाजु, अनेरास्ववियुबाट प्रकाश विष्ट, स्वतन्त्र विद्यार्थी समूहबाट अर्जुन बगाले, नेविसंंघबाट श्यामराज ओझा, अखिल (क्रान्तिकारी) बाट विपिन विक, अनेरास्ववियूबाट समीर गौतम, अखिल क्रान्तिकारी विप्लवबाट मदन केसी, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट विष्णुबहादुर बडैला, अखिल क्रान्तिकारी संयुक्तबाट प्रबल भण्डारी उम्मेदवार बनेका छन् । त्यस्तै दीपकराज जोशी, ललितजन रावल, मिलन बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट उपाध्यक्ष र सहसचिवसहित १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।