शीतलनिवासमा यसरी हुँदैछ राष्ट्रपति पौडेलको स्वागत र निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतलनिवास सर्ने भएका छन् ।

पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी शीतलनिवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ ।

शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ राष्ट्रपति पौडेल शीतलनिवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिनेछ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् ।

त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिने र बधाई दिनेछिन् । अन्य विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिनेछन् ।

त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाइ गरिनेछ । वर्तमान राष्ट्रपतिको स्वागतमा जस्तै निवर्तमान राष्ट्रपतिलाई पनि बिदाइमा २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

निवर्तमान राष्ट्रपति भण्डारी आजै शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्नेछिन् ।

उनलाई ससम्मान निवाससम्म लगेर छाडिने राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले जानकारी दिए ।

यसअघि उनले बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन् ।

२०७२ को भूकम्पले क्षति पुगेको बूढानीलकण्ठको घर मर्मत कार्य फागुन २० गतेभित्रै सक्ने भनिए पनि सकिएको छैन ।