तीन दिनदेखि लगातार सोही रेष्टुरेन्टमा जान्थे उपाध्याय

 

काठमाडौं : नयाँ बानेश्वरस्थित रेस्टुरेन्टको छतबाट खसेर मृत्यु भएका सराेजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटना भन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उपाध्याय लगातार तीन दिन देखि सोही रेष्टुरेन्टमा जाने गरेको रहस्य पनि खुलेको छ। गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए। कफी र चुरोट मगाउँथे। अपरान्ह एक प्लेट म:म: मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाई एवं सोही पार्टीका केन्द्रीय सदस्यको आर्थिक अवस्था त्यति नाजुक अवस्थामा नरहेपछि पारिवारिक समस्यामा हुनसक्ने आँकलन प्रहरीको छ। उनी शनिबार साँझ रेष्टुरेन्टको छतबाट खसेपछि घाईते भएका थिए। स्थानीयले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिएपनि उनको निधन भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार टेबलमाथि चढेर उपाध्यायले होटलको छतबाट हाम फालेको देखिन्छ। तर, खम्बरमा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए। घटनाबारे घटनाबारे छानबिन भइरहेको जानकारी एसएसपी कार्कीले दिए। उपाध्यायलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो। एसएसपी कार्कीले भने, ‘हामी अनुसन्धानमै छौँ।’ पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।