बाल जगत इङ्लिस स्कुलको ३३ औँ अभिभावक दिवश सम्पन्न

केशु विरही

बेलबारी : बेलबारी –९, डाँगीहाटमा रहेको बाल जगत इङ्लिस स्कुलले एक कार्यक्रमकाबिच आफ्नो ३३ औँ अभिभावक दिवश तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।मोरङ क्षेत्र नं ३ ‘ख’का सांसद ज्ञानेन्द्र सुवेदीले विद्यालयको अभिभावक दिवशको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई उद्घाटन पछि कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद सुवेदीले शिक्षाले भोलिको भविष्यको निर्धारण गर्ने बताउँदै यो निरन्तर चलिरहने पनि बताए । बेलबारी नगरपालिकाका निवर्तमान प्रमुखसमेत रहेका सुवेदीले अमूल्य मत दिएर विजयी गराउँने सबैलाई धन्यवाद दिँदै आफूले जनताको मतको अवमूल्यन हुने काम नगर्ने बताए ।

तीनै तहका सरकारका आ–आफ्ना जिम्मेवारी रहेकोले एकले अर्काेलाई हस्तक्षेप गर्न नहुने पनि उनको भनाइ रहेको थियो । संस्थागत विद्यालय संचालन त्यतिकै जोखिमपूर्ण रहेको बताउँदै जोखिमकाबिच पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुसी व्यक्त गरे । प्रमुख अतिथि सुवेदीले प्रदेशको नामकरण गर्न सकेकोमा खुसी व्यक्त गरे ।

प्याब्सन कोसी प्रदेशका उपाध्यक्ष अर्जुन बस्नेतले स्थानीय स्तरमा रहेर पनि बाल जगत स्कुलले पुर्याएको योगदानको खुलेर प्रशंसा गरे । सुन्दरहरैँचा –१०, खोर्सानेमा रहेको शिद्धार्थ स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहेका बस्नेतले विद्यालयको उन्नतिको कामनासमेत गरे ।

बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष शालिग्राम बस्नेतले बाल जगतले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा जनता नमुना माविका प्रअ टेकनारायण शाह, प्याब्सन मोरङ सचिव जगत बस्नेत, निवर्तमान वडा अध्यक्ष नगेन्द्र खड्का, माओवादी केन्द्रका पर्शुराम बस्नेत लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

विद्यार्थीहरूका विविध सांस्कृति प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा डाँगीहाट स्वास्थ्य चौकीका प्रमुख धिरज खवास, पूर्व विद्यार्थीहरू डा. जिनत खवास, अनु निरौला पूजा खवास र डिल्ली कोइरालालाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी सुवेदी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने प्रिन्सिपल भगवतीप्रसाद घिमिरेको रहेको थियो ।