अलैँची बेचेर लमजुङका किसानले कमाए २० करोड

लमजुङ : अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।

विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि सात सय सम्ममा र गत वर्ष ९५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।

यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए ।

कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले ३३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए ।

विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए ।

दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ । उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उनको भनाइ छ । उनले भने, ‘विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।’ सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् ।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।’

मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन ।

जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् ।

जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ ।

उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।