राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम लगभग टुंगियो

काठमाडौं : संसदको सबभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले राष्ट्रपतिमा ‘राजनीतिक बाजी’ मारेको छ ।राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएका छन् ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेका थिए ।

राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसको दाबी नै थियो । राष्ट्रपतिमा दाबी गर्दै आएको एकीकृत समाजवादीका साथै जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला भन्छन्, ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’

राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ ।

कपितयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुची देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ, तर अहिलेसम्म उहाँले आफू उम्मेदवार बन्ने संकेत समेत गर्नु भएको छ ।’

त्यसैले भोलि पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो ।

यद्यपि सिटौलाले अझै आश मारिसकेका छैनन् । उनले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लबिङ गर्दै आएका छन् । बन्द कोठामा हुने कतिपय छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले सिटौलाको नाम लिने उनी निकटवर्तीहरुको दाबी छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने कांग्रेसको विषय भएको र सभापति देउवासहित संस्थापन पक्षका सबैजसो नेता पौडेलको पक्षमा रहेको नेताहरु बताउँछन् ।

संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवा दबावमा छन् । १४औं महाधिवेशनमा तटस्थ रहेर देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए । देउवा पक्षका केही नेता राष्ट्रपति बनाउने प्रतिवद्धता जनाएपछि मात्र पौडेल देउवाको समर्थन बसेको नेताहरु बताउँछन् ।

सहज अंकगणित

माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का जस्तै छ ।संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ ।

कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिजाप्रति कांग्रेस ढुक्क छ ।