युएई जाने टोलीमा परेनन् सन्दीप लामिछाने

काठमाडौं : नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजकाे युएई भ्रमण गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसीलाई १५ सदस्य टोली पठाउने घोषणा गर्दा सन्दीप छुटेका हुन् । टोलीमा मौसम (श्याम) ढकाल र प्रतिश जिसी पहिलो पटक टोलीमा परेका छन् । बलात्कार आरोप लागेका स्पिनर सन्दीपलाई धरौटीमा रिहा गर्दा उच्च अदालत पाटनले विदेश जान भने रोक लगाएको थियो ।

त्यसकारण पनि उनी टोलीमा नपरेका हुन् । यसका लागि क्यानले विदेश भ्रमणमा लैजान पहल गरिदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्राचार पनि गरेको थियो । तर, राखेपले चासो देखाएको छैन । ६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए ।

सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए । चारवटै खेलमा नेपालका तर्फबाट उनले एकनाशले उत्कृष्ट प्रदर्शन गरे । उनले सुरुका तीनमा खेलमा ३/३ विकेट लिए भने अन्तिम खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए । नेपालले अब २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा खेल्नेछ ।