व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी सडकमा

धनगढी : बैँक तथा वित्तीय संघले लिएको चर्को व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले बैंकको ब्याजदर ऋणमा ९ प्रतिशत भन्दा माथि हुन नहुने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् । धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरुले गरेका छन् । प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।