नातिनातिनीहरुले लगाएको लुगा देख्दा बूढाबूढीहरूलाई लाज हुन्छ : डा. जगमान गुरुङ

काठमाडौं : संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै गुरुङले नेपाली समाज विकृत रूपमा अघि बढिरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले नेपालीहरूले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धनको आवश्यकता रहेको बताए ।

संस्कृतिविद् गुरुङले उनले भने, ‘अहिले नेपालमा नेपालीहरूले मान्छेलाई चिनेका छैनन् । मान्छेको दिमागको सदुपयोग गर्न सकेका छैनन् । प्राध्यापक डाक्टर पिताम्बर शर्मा अहिले कीर्तिपुरतिर बस्नुहुन्छ, उहाँलाई योजना आयोगको उपाध्यक्ष बनाइयो तर माथिबाट दबाब आएका कारण म काम गर्न सक्दिन भनेर राजीनामा दिएर बस्नुभयो । मानिसको दिमाग कुहिएको छ, दिमागलाई नेपालका राजनीतिक वर्गले सदुपयोग गर्न सकेको छैन । अहिले बुढाबुढी गाउँमा, छोराछोरी सहरमा बस्छन्, नातिनातिना होस्टेलमा बस्छन् । तीन पुस्ताको भेट नै हुन पाउँदैन । अनि संस्कृतिको हस्तान्तरण कसरी गर्ने ? अहिले नातिनातिनीहरुले लगाएको लुगा देख्दा बूढाबूढीहरूलाई लाज हुन्छ । १२/१५ वर्षका केटीहरू हाफ पाइन्ट लगायो, त्यो पनि पट्याउँदै पट्याउँदै माथिसम्म ल्याउँछन्, अर्धनग्न अवस्थामा छ । विश्वका मानिसले नेपालीहरू कसरी मिलेर बसेका रहेछन् त ? भनेर नेपाली समाज र संस्कृति हेर्न आओस् न । नेपाली समाज अहिले धेरै अघि बढेको छ, त्यो स्वीकृतिमा होइन, विकृतिमा छ । हामीले आफ्नो पुरानो संस्कार छोडिसकेका छौँ । आपसी सद्भाव छोडिसक्यौँ । अहिले भारतको अन्न ल्याएर खान्छौँ, पहिला नेपालमा आउँथे ।’

सम्पूर्ण शास्त्रहरू गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको बताए । उनले कालिन्चोकलाई शक्तिकेन्द्रको रूपमा स्थापित गर्नुपर्ने बताए ।