चिचिरी दिवशको अवसरमा बेलबारीमा ‘धिमाल फुड फेष्टिभल’ हुने

केशु विरही

बेलबारी : धिमाल जातीय विकास केन्द्रको आयोजनामा बेलबारीमा ‘तेस्रो चिचिरी, गेन्द्रो दिवश तथा धिमाल संस्कृतिक प्रदर्शनी’ हुने भएको छ । बेलबारी –३, मा रहेको ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा संस्थाका सहअध्यक्ष एवम् तेस्रो चिचिरी गेन्द्रो दिवशका कार्यक्रम संयोजक कृष्णबहादुर धिमालले फागुन १३ गते हुने प्रदर्शनीमा धिमाल जातिको संस्कार र संस्कृतिको प्रदर्शन हुने बताए । ‘संस्कृति, मौलिकता र स्वच्छ खाना’ नाम दिएको उक्त प्रदर्शनीमा धिमाल जाति मौलिक खानाका साथै धिमालको जातीय सांस्कृतिको प्रस्तुतिसमेत रहेको बताए । उक्त अवसरमा धिमाल जातिका खानाका प्रकार, धिमालले बजाउने बाजाघाजाको समेत प्रदर्शनी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संस्थाका केन्द्रीय अध्यक्ष लोककहादुर धिमाल आफूहरू लोपोन्मुख अवस्थामा रहेको धिमाल संस्कार संस्कृति तथा भाषा साहित्यको प्रवर्धनमा लागिरहेको बताउँदै सोहीक्रममा यो कार्यक्रमको आयोजना गर्न लागिएको बताए । यस्ता कार्यक्रमलाई देशैभरि संचालन गरिने योजना रहेको पनि अध्यक्ष धिमालले बताए ।

उक्त दिन स्टलमा धिमाल जातिको मौलिक खानाहरू :

चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरू उपलब्ध हुने आयोजकले जनाएको छ । सो अवसरमा धिमाल कलाकारहरूको उपस्थितिमा साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम हुने, गायिका मेचु धिमाल, गायकहरू डिकबहादुर धिमाल, सञ्जीव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार विक्रम धिमाललगायतको प्रस्तुति रहनेछ । साथै प्रदर्शनीमा गरगहना, पुस्तक, धिमाल सामग्री ः तान, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामग्रीको प्रदर्शनी रहनेछ ।

पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय उपाध्यक्ष केदार धिमाल, कोषाध्यक्ष रत्नबहादुर धिमाल, बेलबारी व्याडमिन्टन क्लबका अध्यक्ष जेवी कोइराला, युवा व्यवसायी विजय सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
ड्रिमल्याण्डको सहकार्यमा उक्तदिनको कार्यक्रका सहभागीलाई निशूल्क प्रवेश दिने पनि आयोजकले बताएको छ ।