गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ। पाइटल र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ। ‘उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखियो’, उनले सेतोपाटीसँग भने, ‘जोखिमलाई मध्यनजर गरेर अर्को व्यवस्था नभएसम्म सबै उडान बन्द गर्नु भनेर पत्र काटेका छौं।’

गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। यद्यपी हिजो (आइतबार) देखि नियमित उडान गर्ने कम्पनीको भनाइ थियो।

तर उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ। गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।