१५ दिने मध्यमिकी परिक्रमा सुरु

जनकपुरधाम : मिथिलाको प्रसिद्ध १५ दिवसीय मध्यमिकी परिक्रमा सोमबार (आज) देखि विधिवत रुपमा प्रारम्भ भएको छ । धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोला आज साँझसम्म हनुमाननगर पुग्नेछ ।

मंगलबार बिहान हनुमाननगरबाट डोलासहित परिक्रमा यात्री कल्यानेश्वरका लागि प्रस्थान गर्ने छन् । मध्यमा परिक्रमा समेत भनिने यस परिक्रमाका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाही सहित छिमेकी राष्ट्र भारतको सीमावर्ती गाउँका श्रद्धालुहरु सहभागी हुने गरेका छन् । परिक्रमामा सहभागी हुने यात्रीहरुका कारण साँझ हनुमान नगरको मन्दिर परिसर, सडक पेटी, खेत, करेसाबारी, आँपको बँगैचा भरिभराउ हुनेछ ।

लोकसंस्कृतिमा आधारित धार्मिक झाँकी, भजनकिर्तन एवं भक्तिमय कार्यक्रमका साथ भारतको कल्याणेश्वरबाट पैदल यात्रा गर्दै निस्किने विशाल लस्कर गिरिजास्थानबाट महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन हुँदै आठौं दिन धनुषाको पर्वता, धनुषाधाम, सप्तऋषि आश्रम, आश्रय सतोषर, औरही, करुणा, विशौलको विश्वामित्र आश्रम हुँदै पुनः कल्याणेश्वर पुग्ने छन् ।

परिक्रमामा सहभागीहरुको बासस्थानमा स्थानीय गाउँलेले अन्न, खानेपानी, दाउरा आदि निःशुल्क व्यवस्था गर्छन् भने स्थानीय क्लब, संघसंस्थाहरुले निःशुल्क औषधि वितरण गरेर सहयोग गर्ने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष तीर्थालुहरुको संख्या वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष परिक्रमा तीर्थालुहरुको संख्या दश लाखभन्दा बढी हुने साधुसन्तहरुको दावी छ ।

मौसम र समयले साथ दिएकाले यस वर्ष तीर्थालुहरुको संख्यामा वृद्धि हुने विश्वास उनीहरुले व्यक्त गरे । यस वर्ष पनि पुरुषभन्दा महिला तीर्थालुहरुको संख्या बढी हुने अनुमान छ । नेपाल र भारत दुवै मुलुकका धार्मिक, सांस्कृतिक एवं आपसी सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

प्रत्येक विश्रामस्थलका छुट्टाछुट्टै धार्मिक एवं पौराणिक महत्त्व रहेको मिथिला महात्मयमा वर्णन गरिएको छ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केपछि विश्राम गर्छन् । फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात् अन्तरगृह परिक्रमा पूरा गरेर घर फर्कने गर्दछन् ।

परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्छन् । मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरी तीन प्रकारको परिक्रमा हुन्छ । जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफ्नै विशेषता छ ।

प्राचिन समयमा सियालालजी शरण नाम गरेका सन्तले मध्यमा परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ परिक्रमाको सुरुवात गरेका थिए । टाउकोमा बन्दोबस्तीको सामान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुइँ खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु, भजन किर्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।