वीरगञ्जमा आइतवारदेखि जुनियर नकआउट फुटबल प्रतियोगिता सुरु

वीरगञ्ज : वीरगञ्जमा आइतवारदेखि जुनियर नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सन वीरगञ्ज महानगरको आयोजनामा वीरगञ्जको नारायणी रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

कक्षा ८ सम्म ४ फिट १० इन्च उचाई भएका विद्यार्थीहरुले मात्रै खेल्न पाउने जुनियर नकआउट फुटबल प्रतियोगिताको पहिलो दिन ४ वटा खेल सम्पन्न भएका छन् । जसमध्ये पहिलो खेलमा विकन स्कुललाई २ गोलले पराजित गर्दै न्यू वैभ स्कुल बिजयी भएको छ । न्यू वैभले २ गोल गर्दा विकन स्कुलले कुनै पनि गोल गर्न सकेन ।

त्यस लगत्तै भएको दोस्रो खेलमा एम ई एस स्कुललाई ० का विरुद्ध १ गोलले हराउँदै एस आर ग्यालेक्सी स्कुल बिजयी भएको छ । तेस्रो खेलमा माउण्ट मकालु स्कुललाई ० का विरुद्ध ७ गोलको फराकिलो अन्तरले हराउँदै लिटल फ्लावर स्कुल बिजयी भएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।

त्यस्तै आजै भएको अन्तिम खेलमा ओम नेशनल एकेडेमीलाई ० का विरुद्ध १ गोलले हराउँदै साउथ जोन मावि विजयी भएको छ । प्रतियोगिताअन्र्तगत भोली पनि ४ वटा खेल हुनेछन् ।

भोलीको पहिलो खेलमा वीरगञ्ज पब्लिक स्कुल (बिपिएस) र मास्कट एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै भोलीकै दोस्रो खेलमा हिमालयन स्कुल र नेपाल कावेरी एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ । मुनलाइट मावि र दिल्ली पब्लिक स्कुल (डिपिएस) बिच तेस्रो खेल हुँदा चौथो तथा भोलीको अन्तिम खेल दिउँसो २ बजे डिएभी र गौतम माविबिच हुने प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसियाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले गरेका थिए । प्रतियोगितामा २५ वटा स्कुलले सहभागिता जनाएका छन् । आजदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ ।

उद्घाटन समारोहमा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास प्रदर्शन गरेका थिए । मार्च पासमा मनकामना मावि प्रथम, साउथ जोन मावि द्वितिय र सनराईज मावि तृतिय भएको थियो ।