

निराज रानाभाट
काठमाडौं : आज शान्ति शिक्षा मन्दिर माद्यामिक विद्यालय तथा शान्ति शिक्षा मन्दिर माद्यामिक विद्यालयका पूर्व विद्यार्थी मञ्चको संयुक्त आयोजनामा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम विद्यालय परिसर, काठमाडौं महानगरपालिका – १७, ठंहिटीमा सम्पन्न भएको छ ।
कार्यक्रममा सो विद्यालयका वि.सं. २०१५ साल समूहका प्रा.डा. त्रिरत्न मानन्धर लगायत विभिन्न व्याचका पूर्व विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमले एक समय विद्यालय नै बन्द गर्नुपर्ने स्थितीमा पुगिसकेको विद्यालयलाई विभिन्न दाताहरु, स्थानीय निकाय लगायत विभिन्न संघसंस्थाहरुको साथ र सहयोगले अहिलेको स्थितिसम्म आइपुगेको बताउँदै हाल यस विद्यालय नमूना विद्यालयको रुपमा रहेको बताए ।
यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु देशकै उच्च ओहोदामा पुगेकोमा गर्वको विषय रहेको बताउँदै विद्यालयको विकास तथा उत्थानमा संस्थापक स्व.लक्ष्मीदास मानन्धरको महत्वपूर्ण योगदान रहेको र साथ र सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिए ।
सो कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी मञ्चका अध्यक्ष मचाकाजी महर्जनले पूर्व विद्यार्थी मञ्च गठन हुनुमा विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतम तथा पूर्व विद्यार्थी राधाकुमारी श्रेष्ठ ( २०४१ व्याच ) को महत्वपूर्ण भूमिका रहेको र अन्य पूर्व विद्यार्थीहरुको पनि सहयोग रहेको बताउँदै यस मञ्चमा सकेसम्म बढि पूर्व विद्यार्थीहरुलाई सहभागी गराउँदै विभिन्न कार्यक्रमहरु गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्ने क्रममा प्रा.डा. त्रिरत्न मानन्धरले वि.सं. २००७ साल फागुन १९ गते स्थापना भएको यस विद्यालयमा विद्यालय स्थापना भएकै दिन आफू भर्ना भएको स्मरण गर्नुका साथै विद्यालयका इतिहासबारे बताए । त्यस्तै, विभिन्न व्याचका विद्यार्थीहरुले समेत विद्यालयबारे लेखेर विद्यालयको इतिहासलाई अद्यावधिक गर्नुपर्ने बताए ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुको परिचय गर्दै शुरु भएको सो कार्यक्रममा उपस्थित पूर्व विद्यार्थीहरुले यस्तो कार्यक्रम पहिला नै हुनुपर्ने बताउँदै कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै आयोजक परिवारलाई धन्यवाद दिए । स्मरणीय छ, यहीँ फागुन १९ गते विद्यालयको ७२ औं वार्षिकोत्सव मनाउँदै छ ।
