रास्वपामा पनि पदका आशक्तिबाहेक केही छैन, मुलुकका लागि घाँडो भयो : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् ।

कीर्तिपुरस्थित अनेरास्ववियूको दोस्रो स्थायी कमिटीको बैठकमा नेपालले रास्वपाभित्र पनि के-के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको आरोप लगाए ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्कसमेत गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले फेरि मण्डलेहरु जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईहरुले । मण्डलेहरुको रोग एमाले भित्र घुसेको छ । त्यहीबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन कि कारबाही गरिसक्यो थाहा छैन । एमालेमा सम्मानपूर्वक बसिरहेकै छ । त्यो भनेको चाँही कम्युनिष्ट पार्टीको निम्ति जालमर्दो कुरा हो । अर्थात कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरुलाई पनि प्रोत्साहन दिइरहेको त छैन ? शंका खडा हुने परिस्थिति बनेको छ । कतै प्रतिगमनको सहयोगी त बन्न गईरहेको छैन भन्ने प्रश्न खडा भएको छ । त्यसो हुनाले नेपालको राजनीतिको तस्वीर अझै बेग्लै किसिमको देखिन्छ । समय समयमा कम्युनिष्ट पार्टीले आफ्नो शक्ति देखाएको छ ।’

त्यस्तै, नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको दाबी गरे ।