

सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र राम्रा मानिस पनि छन् भनेर बुझाउन नसकिएको बताएका छन्। उनले कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पुरै राजनीति बदनाम हुने गरेको पनि बताए।
कर्णाली उत्सवको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा आइतबार सहभागी भएका महामन्त्री शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा देखिने गरेको बताए। ‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ शर्माले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ।’
उनले संस्थाहरू नै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको बताए। उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुने बताए।
‘राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुईपटक मात्र बनोस्,’ शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ बर्ष बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ।’ उनले राजनीतिज्ञले संवैधानिक निकायमा आफ्नो भाग खोज्ने प्रवृत्ति समाजमा राजनीतिप्रति वितृष्णा जगाउने अर्को विषय भएको बताए।
