राष्ट्रपतिबाट माफी पाएका उन्मुक्तिका सांसद अरुण चौधरी रिहा

कैलाली : कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।

कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए । चौधरी जेलमुक्त भएपछि उनका कार्यकर्ताले सडक जाम पारेका छन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन् ।

जेलबाट रिहा भएपछि सांसद चौधरीले चुनाव जितेपछि रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको बताए । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो । सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ ।