आज सातौँ निर्वाचन दिवस मनाइँदै

काठमाडौं : आज सातौँ निर्वाचन दिवस, ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ मनाइँदै छ।

विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ। यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको छ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल नारालाई आत्मसात् गरी स्थानीय तह निर्वाचन वैशाख ३० गते र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मङ्सिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

यस्तै, यही फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने निर्वाचन आयोगले जनाएको छ।

यसैबिच, दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिए।

उनले यस वर्षका निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उल्लेख गर्दै देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको प्रष्ट पारे।