शीर्ष स्थानको बायर्न बोरुसियासँग पराजित

काठमाडौं : जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।शनिबार राति भएको खेलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३–२ गोल अन्तरले हराएको हो । खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटियो ।

खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २–१ को अग्रता दिलाए । ८४ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले गोल गरेपनि मन्छेनग्लाडबाख ३–२ ले विजयी भयो । जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेको छ । मन्छेनग्लाडबाख आठौं स्थानमा रहेको छ । बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।