घरेलु उद्यमी र उत्पादनकाे बजारीकरणमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

निराज रानाभाट
काठमाडाैं : उप – प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए ।

मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार – प्रसारमा सहयोग पुर्याउने बताउँदै उनले भने,‘देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुने छ ।’

२ लाख ५० हजार अवलोकनकर्ताका साथै रु.५ करोडको कारोबार गर्दै ‘ नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला – २०७९ ’ आज सम्पन्न भएको हो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उप – प्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए ।

धेरै समस्या हुँदाहुँदै पनि मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै मेला संयोजक शोभा गुरुङले भनिन् ,‘देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरूले गरेको योगदानको उचित कदर हुनसकेको छैन ।

’ मेलामा कति खरिद – बिक्री भयो, कति मान्छे आए भन्नुभन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुनसक्यो त्यो महत्वपूर्ण रहेको मेला संयोजक गुरुङको भनाइ छ ।

सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्घता गरेकाले र सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने उनको भनाइ थियो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक यही फागुन २ गतेदेखि राजधानी काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो ।

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार ( कर्नालीको अन्नी ) सेटमा जौँको लड्डु, फापरको मःम, मार्सीको खिर, चिनोको सेल उपभोक्ताले निकै मन पराएका थिए ।

यसैगरी, राउटे समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण रहेको थियो ।

मुलुकभरका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘ नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ ’ र ‘ मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको ’ भन्ने रहेको थियो ।