झापामा सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा भत्काउने प्रयास :प्रतिकार गर्दा प्रहरीद्धारा कुटपिट

 

सुरज माझी

झापा :दमक ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको छ ।सोमबार बिहान नेपाल प्रहरी ,शस्त्र प्रहरी र नगर प्रहरी पुगेर उनीहरूले बनाएको त्रिपालको टहरा भत्काउने प्रयास गरेको थियो । त्यसै क्रममा प्रतिकार गर्दा प्रहरीले सुकुमबासीमाथि हातपात गर्दै त्यहाबाट सुकुम्बासीहरुलाई हटाउन खोजिएको हो ।

प्रतिकार गर्ने क्रममा सुकुमबासी कोपिला विश्वकर्मालाई महिला प्रहरीले कपालमा समाएर बेहोस बनाएको त्यहीँ बस्ने सुकुमबासी मनीष बराइलीले जानकारी दिए । उनी भन्छन् उहाँहरू त्रिपाल उठाएर लान आउनुभयो । यस्तो वेलामा हामी कहाँ जाने ? कोपिलाले प्रतिकार गर्दा ‘एकजना महिला प्रहरीले कपालमा तानेर घुमाएको घुमाई गर्नुभयो ।अनि कोपिला दिदी बेहोस हुनुभयो ।’

कोपिला बेहोस भएपछि सुकुमबासीले विरोध गरेपछि प्रहरीहरु टहरा नभत्काई फर्कियो । बेहोस् भएकी कोपिलालाई पनि उपचारमा लैजानुको सट्टा त्यसै छाडेर हिँडेको सुकुम्बासी राम सम्बाहाम्फेले बताए । हामिले बेहोस कोपिलालाई अस्पताल लगिदिनुपर्‍यो भनेर कति भन्यो । उल्टै प्रहरीले हामिलाई हप्कायो । तर, बिरामीलाई हेरेनन्,’ उनी भन्छन्, ‘बेहोस भएर लडेकी एउटी महिलालाई छाडेर प्रहरी हिँड्यो । पछि हामीले आफैँ सिटीमा हालेर उपचार गर्न लग्यौँ ।’

 

फागुन २७ गते डोजर लगाएर घर भत्काएपछि सुकुमबासीहरु त्रिपाल मुनि बस्थे तर नगरपालिकाले वेलावेला बस्तीमा पुगेर धम्की दिइरहन्छ । सोमबार टहरा भत्काउन गएको प्रहरी स्थानीयको अवरोधपछि त्यसै फर्कियो । तर, महिलामाथि हातपात गरेको सुकुमबासी युवा मानाहाङ सुब्बा बताउँछन् । ‘हामी त्रिपालमुनि छौँ । घामपानी यहीँबाट झेलिरहेको छौँ ।

हामीलाई खबरै नगरी नगरपालिकाले डोजर लगाएर घर भत्कायो । हामी यहाँ २० वर्षदेखि छौँ । अन्त कहीँ केही छैन । कहाँ जाने ? उनले भने, ‘दुई महिनादेखि बिहान–बेलुका प्रहरी आएर महिला दिदीबहिनीलाई औँला देखाएर पख्लास् भन्दै हिँड्छन् ।

दुई महिनाअघि घर भत्काउँदा सुकुमबासीलाई पूर्वजानकारी थिएन । उनीहरूले घरका सामान पनि निकाल्न पाएका थिएनन् ।

एकैचोटि डोजरसहित बाक्लो प्रहरी बस्तीमा आएपछि झस्किए सुकुमबासीहरु । विगतदेखि नै उचित व्यवस्थापनको माग गर्दै आएका केही सुकुमबासीलाई बिहानै प्रहरीले नियन्त्रणमा लियो । भत्काउँदै गर्दा घर सर्ने समय माग्ने सुकुमबासीलाई पनि पक्राउ गर्‍यो । त्यो वेला सुकुमबासीको घरमा रहेका खाद्यान्नदेखि सबै सामान नगरपालिकाले गाडीभित्र हाल्यो र लग्यो ।

कोरोना महामारीसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । दिनभर काम गरेर बिहान–बेलुका छाक टार्ने सुकुमबासी अहिले समस्यामा छन् । यसबेला उनिहरु कहाँ जाने सात घर सुकुमबासीको चुलो निभ्ने अवस्था आएको छ । तर, यस्तै वेला नगरपालिकाले टहरामुनिबाट पनि हटाउन खोज्दै छ । भत्काइएका सात घर परिवार विपन्न दलित र जनजातिका छ ।

घर भत्किएपछि गर्दै गरेको काम पनि पाइन काम न पाएपछि दैनिक हातमुख जोड्नै मुस्किल भएको सुकुमबासी बालकुमार राई बताउँछन् । ‘हामी धेरैजना दैनिक ज्यालादारीमा काम गर्छौँ । तर, घर भत्काएपछि सबैले काम दिनै छाड्यो ।

यिनीहरू त समस्यामा छन्, काम सक्दैनन् भनेर कामै दिँदैनन्,’ उनी भन्छन्, ‘नगरपालिकाले पनि लगेको सामान फिर्ता दिएन । अब के खाएर बाँच्ने ? उल्टै घरमा आएर कुटपिट गर्छ ।’

उनीहरू एउटै टहरामा सात घर बस्दै आएका छन् । पहिला भान्सा पनि एकै ठाउँमा थियो, सात परिवारको । तर, अहिले भान्सा अलग अलग छ । सुत्ने ठाउँ एउटै टहरमा छ । उनीहरूले घर भत्काएर रहेका पुराना टिनलाई सदुपयोग गर्दै टहरा बनाएका छन् । तर, यो महामारीको समयमा पनि नगरप्रहरी दैनिकजसो आएर उनीहरूलाई धम्क्याइरहेको सुकुम्बासीहरुको गुनासो छ।