

कास्की : नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक अहिले बसिरहेको छ । बैठक पोखराको लेकसाइडमा चलिरहेको छ । यो बैठकमा विभिन्न १७ वटा एजेन्डामा छलफल हुनेछ । मुख्य एजेन्डा नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ । सन्दीपको फुकुवा गर्ने एजेन्डामा क्यानको आलोचना पनि हुँदै आएको छ ।
यस्तै आजको बैठकको सुरुमै सात जना केन्द्रीय सदस्यले क्यानका अध्यक्ष र पदाधिकारीको राजीनामा मागेका छन् । नेपाल टी–२० लिगमा क्यानले गम्भीर गल्ती गरेको र यसकै कारण नेपालको छवि धुमिल भएको तथा खेलाडीको भविष्यसमेत अन्धकार भएको भन्दै केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्लसहितका पदाधिकारीको राजीनामा मागेका हुन् ।
नेपाली टी–२० लिगमा ‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै उनीहरूले समितिको चर्को आलोचनासमेत गरेका छन् । केन्द्रीय सदस्य छुम्बी लामाले गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको बताएका छन् । गलत तरिकाले गरिएको सम्झौताका कारण उदीययमान खेलाडी सीआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताए ।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय टाेलीका पूर्वखेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
