

काठमाडौं : नेपाली कांग्रेस चितवनका जिल्ला सभापित राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि चुनाव लड्न आए कांग्रेसलाई जित निकाल्न झन् सहज हुने बताएका छन्।
खनालले एक महिनामा सरकारको उपप्रधान तथा गृहमन्त्रीको पदमा बसेपछि रविको नागरिकता र पासपोर्टलगायत विवादका बारेमा जनता स्पष्ट भइसकेको बताए। उनले चितवन-२ मा कांग्रेसको पक्षमा जनलहर झन् बलियो भएर आएको दाबी गरे।
‘चितवन यस्तो ठाउँ हो, जहाँ राजनीति उत्तारचढाव आइराख्छ। ह्वात्तै आउने र केहीबेरमै सेलाउने व्यक्तिहरूलाई पनि चितवनका जनताले जिताए। तर अबको उपनिर्वाचनमा जनताले १० पटक सोचेर मत दिने मनस्थितिमा पुगेका छन्। मंसिर ४ को कुरा भनेको त्यतिबेला रविको हावा चलेको थियो। अब उनी उम्मेदवारको रूपमा उभिने हो भने कांग्रेसले सहज जित निकाल्नसक्छ,’ उनले भने।
कांग्रेसभित्रको आन्तरिक किचलोकै कारण रविले जितेको बताउँदै उनले थपे, ‘कांग्रेसभित्रको दोषारोपणका कारण रविजीले चुनाव जित्नुभयो। तर जितेर आएको एक महिनासम्म पनि जनताले कुनै राहतको महसुस गर्नै पाएनन्। जसलाई उहाँ यसअघि आरोप लगाउनुहुन्थ्यो, आज आफू त्यही भूमिकामा पुग्नुभयो। सत्तालिप्त मात्र रहेको जनताले देखिसकेका छन्। यसको प्रतिफल उपनिर्वाचनमा अवश्य देखिन्छ।’
उनले अहिलेको गठबन्धन दुर्घटनाग्रस्त हुने खतरामा रहेको बताए। उनले नागरिकता र राहदानी विवाद कायमै रहँदा पनि रविले गृहमन्त्रीको घुर्की लगाउनु सत्तालिप्साको पराकाष्ठा भएको बताए। ‘मुलुकको लागि केही गरौं भन्ने त छँदै छैन। खाली व्यक्तिगत लाभमा मात्र छन्,’ उनले भने।
उनले चितवनको परिवेश र धरातल नबुझिकनै टिकट वितरण गरिएको आरोप लगाए। ‘पार्टीले टिकटमा राजनीति गर्यो। हामीबीच हार्मोनी पनि भएन। गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं भन्ने आत्मविश्वास बढी भयो,’ उनले भने।
मंसिर ४ को निर्वाचनमा रविले ४९ हजार ३ सय मतले विजयी हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए।
