संसदप्रति जवाफदेही नहुने मन्त्रीको पद खारेज गर्नुपर्छ : प्रमुख सचेतक शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदप्रति जवाफदेही नहुने मन्त्रीको पद खारेज गर्ने कानून बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्य शाहीले नियमावलीमा संसदमा उठेका प्रश्नको जवाफ नदिने मन्त्री स्वतः मन्त्री पदबाट मुक्त हुने व्यवस्था राख्न प्रस्ताव गरेका हुन् । मस्यौदा समितिमा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ मन्त्रीले पाँच दिन वा सात दिनमा दिने भन्ने विषय नियमावलीमा राख्न सोमबार छलफल भएको थियो ।

छलफलमा भाग लिँदै सांसद शाहीले तोकिएको मितिमा पनि जवाफ नदिएमा के गर्ने भनेर प्रश्न उठाएका थिए । ‘नियमावलीमा दिन तोकौला । हिजोका दिनमा पनि तोकिएको थियो । तर, मन्त्रीले टेरेनन्’, शाहीले भने, ‘हामीले नियमावली बनाएर कार्यान्वयनमा आइसकेपछि जवाफ नदिए के हुन्छ ? जवाफ दिएनन् र त्यहाँसम्म पुगेनन् भने मन्त्री पद नै खारेज हुन्छ भन्ने राखौं ।’

उनको प्रस्तावमा प्रतिवाद गर्दै माओवादी सांसद शक्तिबहादुर बस्नेतले मन्त्री खारेज गर्ने अधिकार समितिलाई नभएको बताए । मन्त्री उपस्थित नभए सभामुखले रुलिङ गर्ने र रुलिङ बाध्यकारी भएकाले मान्नैपर्ने स्मरण गराए । ‘रुलिङ नमाने सभामुखले फेरि रुलिङ गर्ने हो । मन्त्री सदनप्रति बाध्य नहुने ठाउँ नै छैन’, उनले भने ।

समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले पनि शाहीको प्रस्तावलाई अस्वीकार गरे । ‘खारेज त कहाँ हुन्छ । यो मिल्दैन । जवाफदेही बनाउने हो’, उनले भने । सभामुखले रुलिङ गर्नुपर्ने शक्ति बस्नेतको तर्कमा डा. अमरेशकुमार सिंहले प्रश्न गरे, ‘यहाँ त सभामुख सत्ता पक्ष हुन्छ । रूलिङ गरेन भने के हुन्छ ?’

कांग्रेसका सांसद रमेश लेखकले सदनले सरकारलाई जसरी पनि बाध्य गर्न सकिने बताए । रास्वपाकी सोविता गौतम र माओवादीका हितराज पाण्डेले पनि सातै दिन व्यवहारिक हुने धारणा राखेका थिए । शून्य र विशेष समयमा उठेका विषयमा मन्त्रीले सात दिनभित्र जवाफ दिने विकल्पमा समितिमा सहमति जुटेको थियो ।