लक्की फिल्मी अवार्डको प्रचार प्रसार शुरु

निराज रानाभाट
चितवन : लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘ लक्की फिल्मी अवार्ड २०८० ’ को तयारी तीव्र पारेको छ । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारको काम सुरु भएका छन् । आज फिल्मी अवार्डको प्रचार सामाग्री ‘ स्टिकर ’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा सो प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ सर्जन डा. गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’, कार्यक्रम संयोजक राजेश शर्मा आचार्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । फिल्मी अवार्डका लागि तयार भएको स्टिकरलाई देशव्यापी रुपमा टासिने जनाइएको छ । अवार्ड प्रचारका लागि छिटै टिसर्ट, फ्लेक्स ब्यानर, अवार्डको अडियो जिंगल पनि छिटै सार्वजनिक गर्ने तयारी रहेको महा – प्रबन्धक कार्कीले बताए । उनका अनुसार फिल्मी अवार्ड प्रचारका लागि मोफसुल टुर पनि केही दिनमा शुरु गरिने उनले बताए । नेपालका मुख्य शहरमा फिल्मी अवार्ड बारे जानकारी गराउँदै जाने योजना रहेको बताए ।

लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ । मिडिया हाउस अन्तर्गत चितवन खबर अर्ध साप्ताहिक र ई – चितवन खबर डट कम समेत सञ्चालनमा छन् ।