पत्रकार पुडासैनीले न्याय पाउलान्, सत्यताको जीत होला ?

सरकारले कागजात र प्रमाण पुगेपछि मात्र नेपाली नागरिक भनेर ठहर गर्छ । नेपाली नागरिकता प्राप्तिका लागि बाबुआमाको नागरिकता, जन्मदर्तालगायतका प्रमाण चाहिन्छ । त्यस्तै, लाइसेन्स होस् या घरजग्गाको नामसारी गर्न प्रमाण जुटाउनैपर्छ । संस्था दर्ता गर्नका लागि पनि प्रमाण हेरिन्छ अनि मात्र संस्था खोल्न सकिन्छ । सरकारी सेवासुविधा लिनका लागि नेपाली भएको प्रमाण नै सबैभन्दा पहिले आवश्यकता पर्छ । तर, रवि लामिछानेको हकमा यो भएन् ।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका उनले नागरिकता पुनः प्राप्तिका लागि पहल गरेको देखिँदैन् । हिजोको सर्वोच्च अदालतको फैसलाले उनलाई दोषी ठहर गरिसकेको छ । उनलाई गैरनागरिक भनेर सर्वोच्चले पुष्टि गरेको छ । तर, यो अवधिभर उनले के गरेनन् ? रविले हरेक व्यवसायमा हात हाले । पत्रकार भए, प्रेस कार्ड लिए, मिडियाको कम्पनी खोले । नेपाली नागरिकता त्यागिसकेको व्यक्तिलाई सूचना तथा सञ्चार विभागले कसरी प्रेस कार्ड दियो ?

उनको ग्यालेक्सी टिभी कसरी दर्ता गरियो ? उनले के आधारमा बैंकको खाता खोले ? निर्वाचन आयोगले के आधार पार्टी दर्ता गर्यो ? हिजो पत्रकार शालिकराम पुडासैनीको मुद्दामा प्रहरीले उनलाई २४ दिन हिरासतमा राख्यो । प्रहरीले नागरिकता नै नहेरीकन के आधारमा छानबिन गर्यो ? न्यायाधीशले उनलाई कसरी सफाइ दिए ? जबकी कसैसंग नेपाली नागरिकता नै छैन् । ऊ नेपाली नागरिक नै होइन् । त्यस्तो व्यक्तिलाई अदालतले सफाइ दिएको छ ।

प्रहरीले यो निष्पक्ष रुपमा छानबिन गरेको छैन् । रविको नागरिकतामाथि प्रश्न उठ्नेबित्तिकै प्रहरी प्रशासनको छानबिन र न्यायाधीशको फैसलामाथि नै जनताले शंका गरेका छन् । नागरिकता नभएको व्यक्तिले घरजग्गा किनेका छन् । अन्य थुप्रै व्यापार व्यवसायमा हात हालेका छन् । यो कसरी सम्भव भयो ? ऐनकानुन भनेको सँधै सीधासाधा सर्वसाधारणका लागि मात्र हो ? पहुँच र पावर हुनेले जे गर्दा पनि हुने ? नेपालको कानुन र न्याय दिलाउने व्यक्तिको अगाडि थुप्रै प्रश्न तेर्सिएका छन् ।

पैसा र पहुँच भयो भने केसम्म हुँदो रहेछ भन्ने अहिले छर्लङग भएको छ । २०७० सालमा नेपाली नागरिकता खारेज गरेर रविले अमेरिकी नागरिकता लिइसकेका थिए । तर, उनले त्यो खारेज भएको नागरिकताबाट पनि थुप्रै फाइदा उठाए । सरकारी सेवासुविधा लिनलाई उनलाई कुनै रोकतोक भएन् । ‘आत्महत्या दूरुत्साहन’ को मुद्दामा समेत उनले सफाइ पाए । जबकी पत्रकार पुडासैनीले भिडियो रेकर्ड गरेर सम्पूर्ण प्रमाण छाडेका थिए । रविमाथि संगीन आरोप लागेको थियो ।

उनलाई न्यूज २४ कै कार्यालयबाट प्रहरीले पक्राउ गर्यो । २४ दिन हिरासतमा राख्दासमेत नागरिकताको विषय उठान भएन्, तर कसरी ? नागरिकता नै नहेरीकन प्रहरीले कसरी छानबिन गर्यो ? ऊ नागरिक हो कि गैरनागरिक ? प्रहरीले यति त छुट्याउन सकेन् भने के अनुसन्धान गर्यो ? कसरी निष्पक्ष रुपमा छानबिन भयो ? यहाँ छानबिन भएन्, भित्रभित्रै रविलाई बचाउने खेल रचियो । प्रहरीले नागरिकता नहेरेपनि अदालतले हेर्नुपथ्र्यो । फेरि एउटा होइन् दुईटा अदालत नै उस्तै निस्कियो ।

चितवन जिल्ला अदालत र उच्च अदालत, पाटनले के हेरेर उनीमाथि लागेको दाग मेटायो ? चितवनले तारिखमा छोड्यो, उच्चले मुद्दामा सफाइ नै दिएको छ । कानुनलाई किनेर पत्रकारलाई उचालेर र सर्वसाधारणलाई सडकमा उतारेर रवि उम्किए । नुवाकोट घर भएका पुडासैनी काठमाडौंको बालाजु बस्दै आएका थिए । तर, उनले चितवनमा गएर आफ्नो देह त्याग गरे । मर्नुअघि उनले आफू रविको कारणले बाँच्न सक्ने अवस्थामा पुगेको बताउँदै भिडियो रेकर्ड गराए ।

तर, रविले यहाँ पनि आफ्नो पासो फाले । राजतन्त्रको पक्षधर उनले जिल्लाजिल्लाबाट पत्रकार सडकमा उतारे । यता, राजवादीहरु सबै सडकमा ओइरिए । संघीयता खारेज गर्नुपर्ने धारणा भएकाहरु उनको पक्षमा उभिए । राप्रपाका कार्यकर्ताहरुले हुलदंगा मच्चाए । चितवनबासीहरु बुझ्दैनबुझीकन आन्दोलनमा उत्रिए । त्यतिबेला पत्रकार पुडासैनीलाई एक्लाउने काम भयो । जसको कारण न्याय मर्यो । हिरासतमा पर्ने बेला रविले नौटंकीमै भएपनि जनताको कुरा उठाउँथे ।

टिभीमा नेताहरुको विरोधमा बुत्रुकबुत्रुक उफ्रिने रविको यथार्थबारे जनता अन्जान थिए । पत्रकारले मर्नुअघि बनाएको भिडियोलाई जनताले नै अप्रमाणित गरिदिए । उनी नेताको विरोधमा बोल्ने व्यक्ति भएकाले तिनकै योजना भएको भन्दै सर्वसाधारण हुरुरु सडकमा आए । त्यसपछि पत्रकार पुडासैनीको भिडियो ओझेलमा पर्यो । आन्दोलनको दबाबमा परेका चितवनका न्यायाधीशले पुर्पक्षमा पठाउनुपर्ने लामिछानेलाई तारिखमा छोडिदिए । न्यायाधीशले भीड देखेर आफ्नो कर्ममाथि नै घात गरे ।

त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकार थियो । उनले रविलाई छुट्याउन निकै पहल गरेका थिए । अरुलाई आरोप लागेकै भरमा न्यायाधीशले पुर्पक्षमा पठाउँथे । अरु जनता भएको भए अहिलेसम्म जेलजीवन बिताइरहेका हुन्थे । पत्रकार पुडासैनीको परिवार एक्लै भए । उनी गरिबको छोरो भएकाले न्याय पनि त्यतिबेलै मर्यो । तर, सत्यको सँधै पनि जीत हुन्छ । पाप अवश्य पनि धुरीबाट कराउँछ । उनले भिडियोमै रविको नागरिकता छैन् भनेर स्पष्ट पारेका थिए । विडम्बना कसैले पत्याएनन् ।

रविको चपाउने र देखाउने दाँत छुट्टाछुट्टै छ भनेर पुडासैनीले चिच्याइचिच्याइ भनेका थिए । तर, कसैले सुनेनन् । अहिले आएर पुडासैनीले भनेको सत्य रहेछ भन्ने त स्पष्ट भयो । उनको कुरामाथि विश्वास नगर्नु आफैंमाथि गरेको घात हो । बर्खामा पानी गरेर खोलामा भल आएजसरी नै जनता उत्रिए । त्यतिखेर सत्यको साथ नदिनेहरुलाई ऐनामा आफ्नो अनुहार पनि हेर्न सकेका छैनन् होला । बुढापाकाले भन्थे,‘ढिलो भएपनि सत्यको जीत हुन्छ ।’ ढिलो भएपनि सत्यको जीत भएको छ ।

अब पनि पत्रकार पुडासैनीले न्याय पाउने कि नपाउने ? न्याय नपाएका पत्रकारलाई अरु पत्रकारले साथ दिने कि नदिने ? न्याय मरेको छ, त्यसलाई फेरिपनि जीवित बनाउनुपर्छ । पत्रकार पुडासैनीको ज्यान त्यति सस्तो नबनोस् । पहुँच र पैसाभन्दा ठूलो कानुन हो । तर, न्याय दिने व्यक्ति नै दबाब र प्रभावमा पर्दा कानुनबाट जनविश्वास उठेको छ । यो मुद्दा पुनः पनि व्यूँतिन जरुरी छ । पत्रकार पुडासैनीको आर्थिक अवस्था एकदमै नाजुक छ । उनको बाबुआमा एक्लैले यो लडाइँ लड्न सक्दैनन् ।

तिनीहरुलार्य अदालतको ढोकासम्म ल्याइदिने कोही पनि छैनन् । नेपालका नागरिक समाज, बुद्धिजीवी वर्ग, पत्रकार, मानव अधिकारकर्मी र कानुनी सल्लाहकार रविमाथि छानबिन गर्नुपर्छ भनेर लाग्लान् ? गरिबलाई साथ र समर्थन देलान् ? रवि पनि पत्रकार नै थिए, पुडासैनी पनि त्यही पेशामा थिए । दुवै राज्यको चौंथो अंग हुन् । पुडासैनी त अझै नेपाली नागरिक थिए । उनीसंग नेपाली नागरिकता थियो । तर, उनकै लागि न्याय मर्यो । रविले दिएको दबाब सहन नसकेर उनले आत्महत्या रोजे ।

हालसालै मात्र पदभार ग्रहण गरेका कानुनमन्त्री ध्रुवबहादुर प्रधानले पत्रकार पुडासैनीको परिवारलाई न्याय दिन सक्छन् ? तारिखमा छाड्ने र मुद्दामा सफाइ दिने न्यायाधीशलाई उनले छानबिनमा ल्याउन सक्छन् ? के आधारमा चाँहि न्यायाधीशहरुले रविलाई सफाइ दिए ? यो अनुसन्धान हुनैपर्छ । मर्न बाध्य बनाउने रविलाई समातेर जेल हाल्नपर्यो । यो आँट छ कानुनमन्त्री प्रधानसंग ? न्यायमाथिबाट जनताको विश्वास नउठोस् । नेपाल प्रहरीले अपराधीलाई सास रहेसम्म समात्छ ।

पत्रकार पुडासैनीले छोडेको प्रमाण र रविलाई लागेको आरोपका आधारमा प्रहरी प्रशासनले छानबिन अगाडि बढाउन सक्छ ? रविलाई कानुनको कठघरामा उभ्याउन सक्ने आँट उनीमा छ । प्रहरी प्रशासनले जनतालाई दुईवटा प्रश्नको जवाफ दिनुपर्छ । कि मरेको मान्छे शालिकग्राम पुडासैनी होइन् भनेर पुष्टि गर्नुपर्छ । कि उक्त भिडियोलाई डुब्लिकेट हो भनेर प्रमाण देखाउन सक्नुपर्छ । प्रहरी त्योमध्ये केही गर्न नसक्ने अनि आरोपीचाँहि बाहिर निष्फिक्री भएर डुल्ने ?

अदालतले रविको नागरिकतामाथि फैसला सुनाइसकेको छ । उनको पार्टीको सभापतिदेखि लिएर सांसद् पद खेर गएको छ । योसंगै उपप्रधान तथा गृहमन्त्री पनि खोसिसकेको छ । नागरिकता र पासपोर्टको विषयमा मुद्दा हाल्ने कानुन व्यवसायीले न्याय नपाएका पत्रकारको पीडित परिवारलाई अदालतको ढोकासम्म ल्याइदिनुपर्छ । उनको मुद्दा फेरि पनि व्यूँतिनुपर्छ । कानुन व्यवसायीले मुद्दा हाल्न ढिलो भइसकेको छ । पुडासैनीको परिवारले न्याय पाँउलान भनेर धेरैले आशा गरेका छन् ।

पत्रकार पुडासैनी चितवनमै गएर आत्महत्या गरेको देख्दादेख्दै पनि अनदेखा गरियो । त्यसको पछ्तावा चितवन २ का जनतालाई भएको छ । रविलाई भोट दिनु ठूलो गल्ती भएछ भनेर तिनलाई अफसोस भएको छ । चितवनका जनताले आँखा चिम्लेर रविलाई भोट दिए । तर, त्यसअघि त्यहाँका जनताले पुडासैनीलाई आफ्नो छोराको ठाँउमा राखेर हेर्नुपथ्र्यो । अनि मात्र तिनले थाहा पाउँथे । अमेरिकी नागरिकलाई चुनाव जिताउनु भनेको राष्ट्रियतामाथि गरेको ठुलो घात भयो । चितवनका जनता कति बुद्धिजीवी रहेछन् सबै जिल्लाका जनताले थाहा पाए ।

अनुसा थापा
भक्तपुर