सहकारीमा बेतिथिको चाङ, समाधानतिर छैन् सहकारी विभागको ध्यान 

 

आफुले जिन्दगीभर मेहिनेत गरेर कमाएको पैसा सर्वसाधारणले सहकारीमा लगेर जम्मा गरेका छन् । व्यापार व्यवसाय गरेको, घरखेत बेचेर रकम पनि एकदुई प्रतिशत ब्याज पाइन्छ भनेर सहकारीमा लगेर राखेका छन् । ९६ लाख सर्वसाधारणको १९ खर्बभन्दा बढी रकम ३५ हजार २३९ सहकारीमा छ । सहकारी विभागमा दर्ता भएका यी सहकारी डुबेर आधामा झरिसकेको छ । अधिकांश सहकारी भागिसकेको छ । सहकारी भाग्दा धेरैको बिल्लीबाठ भएको छ ।

बाँकी भएकाले पनि ६ महिनादेखि ब्याज दिन सकेको छैन् । बचतकर्ताले ब्याज त पाएनन् तर साँवा पाउने कुनै आश देखिएको छैन् । कार्यालय बन्द गरेर भागेकाहरुलाई कारबाही गर्नुपर्ने बचतकर्ताहरु बताउँछन् । पीडित बचतकर्ताहरु वडा कार्यालय, नगरपालिका, प्रहरी प्रशासन र सहकारी विभाग धाइरहेका छन् । कार्यालय खुलेकाले भाका राखेर बचतकर्ता फिर्ता गरिरहेका छन् । एकदुई महिना टाइम माग्ने अनि भाका सारेको सार्यै गर्ने । सहकारीमा जाँदा अध्यक्ष र सञ्चालक हुँदैन् ।

एकाध कर्मचारी मात्र देखिन्छन् । तिनीहरु सरसंगै कुरा गर्नुस् भनेर पन्छिछन् । तर, सर भेटे त बचतकर्ताले कुरा गरुन् । डोकोमा साग बेच्नेदेखि राजनीतिक दलसम्मको पैसा सहकारीमा छ । सानो पसल थापेर बसेका व्यापारी, ठेलागाढा व्यापारी, सरकारी कर्मचारी लगायत सबैको पैसा सहकारीमा छ । सहकारी पहिले पनि नभाग्ने त होइन् । तर, अहिले परिस्थिति फेरिएको छ । एकाध मात्र होइन् भएजति सबै सहकारी भाग्ने अवस्थामा छन् । जसका कारण जनता चुलम्मै डुब्ने देखिएको छ ।

सहकारीले यत्रो बचतकर्तालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याउँदाखेरि पनि भूमिसुधार मन्त्री राजेन्द्र कुमार राई र सचिव दामोदर रेग्मी के हेरेर बसेका छन् ? बचतकर्तालाई उठीबास लगाउँदा उनीहरुले समस्या समाधानका लागि चासो देखाएका छन् । सहकारीले पैसा फिर्ता नदिँदा बचतकर्ताहरु पीडित भएका छन् । सरकारको कमीकमजोरीको फाइदा सहकारीका सञ्चालकहरुले उठायो । ब्याज दिन्छु भन्ने विश्वास दिलाएर पैसा ल्याएर सहकारीमा राख्यो ।

अहिले फिर्ता माग्दा दाँतबाट पसिना निकाल्छन् । सहकारीमा राखेको पैसा फिर्ता नआउने थाहा पाएका बचतकर्ताहरुको उठीबास लाग्ने निश्चित भएको छ । अहिले घरघरमा सहकारीकै विषयमा चर्चा चलिरहेको हुन्छ । सहकारीले पीडा दिएपछि सडकमा बसेर गुनासो पोख्न थालेका छन्, सर्वसाधारण । सहकारीले पैसा दिएन्, हाम्रो पैसा खाँइदियो भन्नेहरु यत्तिकै छन् । न्यायका लागि सरकारको ढोका ढक्ढक्याउँदाखेरि उल्टो गाली खानुपरेको पीडित पक्षको भनाइ छ ।

‘हिजो पैसा राख्ने बेलामा हामीलाई सोधेर राख्नुभएको थियो । ब्याजको लोभमा राख्नुभयो अनि अहिले यहाँ आएर गुनासो गर्नुहुन्छ’, भन्दै थर्काएको पीडित बताउँछन् । बचतकर्तालाई सहकारीमा को को सञ्चालन छन् ? यो पनि राम्ररी थाहा छैन् । सञ्चालक र कर्मचारीबारे कुनै अध्ययन नै नगरीकन आफूसंग भएको पैसा ल्याएर जम्मा गरे । रैथानेले मात्र सहकारी दर्ता गरेर सञ्चालन गर्न पाउने प्रावधान सरकारले नबनाउँदा पनि यो बेतिथि ह्वात्तै बढ्यो । नागरिकता भएपछि जुनसुकै जिल्लामा गएर सहकारी दर्ता गरेर सञ्चालन गर्न सकिन्छ ।

श्रीमान श्रीमती र घरपरिवार मिलेर कतिपय सहकारी सञ्चालन गरेका छन् । श्रीमान श्रीमती अध्यक्ष र सञ्चालक बन्ने । अन्य कार्यसमितिमा परिवारकै सदस्य राख्ने । अनि आफ्नै आफन्तलाई सहकारीको कर्मचारी बनाउने । बचतकर्तालाई थोरै ब्याज दिएर मँहगो ब्याजमा कर्जा लगानी गर्ने । त्यस्तै, नेता, प्रहरी, निर्माण व्यवसायी र सरकारी कर्मचारीका कालोधन लुकाउने माध्यम पनि सहकारी नै बनेको थियो । स्रोत नखुलेका रकमजत्ति सबै सहकारीमै छ ।

कालोधन राख्नेहरु पनि यतिखेर तनावमा परेका छन् । सहकारीका सञ्चालकहरुले उक्त पैसा पचाउन खोजेका छन् । पैसा राख्ने बेलामा सहकारीले स्रोत खोजेन् । अहिले त्यसकै फाइदा सहकारीका सञ्चालकले उठाएका छन् । तपाईले कहाँँबाट यत्रो पैसा ल्याएको ? स्रोत खुलाउनुस् नभए हामी बाहिर सार्वजनिक गरिदिन्छौं भन्दै थर्काउन थालेका हुन् । कतिपय घरमा श्रीमतीले श्रीमानलाई थाहा नदिईकन सहकारीमा बचत गरेका छन् । आपतविपत पर्दा काम लाग्छ भनेर महिलाहरुले सहकारीमा पैसा राखे ।

तर, अहिले सहकारीले यसलाई नै धम्काउने अस्त्र बनाएका छन् । यो पैसा कहाँबाट ल्याएको ? घरपरिवारमा नसोधीकन ल्याएको पैसा यहाँ राख्नुभएको छ । यसको स्रोत के ? कहाँबाट ल्याउनुभयो ? श्रीमानलाई भनिदिन्छुलगायत विभिन्न तनाव दिँदै पैसा फिर्ता नगर्ने योजना बनाएका छन् । घरमा खैलाबैला मच्चाइदिने अवस्थामा पुर्याएका महिलाहरु यतिखेर मानसिक पीडामा परेको छ । बैंकमा १० लाखभन्दा बढी रकम राख्न खोज्यो भने स्रोत खुलाउनुपर्छ ।
तर, सहकारीमा पाँच करोड पैसा जम्मा गर्यो भनेपनि स्रोत खुलाउनुपर्दैन् ।

सहकारीले २२ प्रतिशतसम्म ब्याज दिन्छौं भनेर बचतकर्तासंग पैसा लिएका छन् । त्योपनि मुद्धद्धी खातामा । तर, अहिले ब्याज पनि दिएन्, साँवा पनि दिएन् । पैसा राख्नेलाई घर न घाँटको बनाइदियो । सहकारीहरुले बढ िब्याज दिन्छौं भनेर सर्वसाधारणलाई लोभ्यायो । सर्वसाधारणले घरजग्ग बेचेको, व्यापार व्यवसाय गरेको सबै सहकारीमा लगेर राखे । सहकारी सञ्चालकहरुले दुई प्रतिशत सेवाशुल्क र घुस लिएर ५० लाख पर्ने जग्गालाई त्यति नै ऋण दिए । ३२ सय पर्ने सेयरलाई पनि उत्ति नै कर्जा दिए । बजारी मूल्य कति छ त्यति नै कर्जा दिए ।

सहकारीले राम्रो ब्याज दिएपछि सर्वसाधारणले बैंकमा भएको पैसासमेत सहकारीमा लगेर राखे । त्यति नगरे सहकारीले बचतकर्तालाई ब्याज दिन सक्दैन्थ्यो । त्यसैले सहकारीले जोखिम मोलेरै जनताको पैसा कर्जा लगानी गर्यो । सहकारीलाई जसरी हुन्छ नाफा कमाउनुपर्छ । पैसा फ्रिज भयो भने सहकारीले ब्याज दिन सक्दैन् । ३२ सयको सेयर चार हजारमा पुग्छ भनेर सहकारीले सोचेको थियो । घरजग्गाको मूल्य पनि बढ्छ भन्नेमा सहकारी थियो ।

एक करोडको मूल्यको धितोमा त्यति नै रकम पाएपछि अरु के चाहियो ? भोलि मूल्य बढ्यो भने निखान्ने, घट्यो भने सहकारीलाई नै जिम्मा लगाइदिने । बैंकले ५० लाखको धितोलाई मूल्याकंन गरेर जम्मा १५ लाख रुपैयाँ दिन्छ । तर, सहकारीले उताउता नहेरी भकाभक कर्जा दियो । सहकारीबाट ऋण लिएकाहरुले धितो छोडिदिए । कतिपयले आत्महत्या गरे, कतिपय सबै छोडेर भागे । ऋण लिनेहरु त डुबिहाले । न उनीहरुले मँहगो ब्याज तिर्न सके । यता, चर्को घुस र सेवाशुल्कको मारमा उनीहर परे ।

कर्जा लिनेसंगै बचतकर्ताको अवस्था पनि नाजुक बनेको छ । ब्याज खानका लागि पैसा राखे अहिले साँवा नै माया मार्नुपर्ने अवस्था बनेको छ । सहकारीको साधारण सभा गर्दाखेरि पैसा राख्नेलाई नबोलाउने । आफन्तलाई बोलाउने अनि गाउँपालिका, नगरपालिकाका अध्यक्ष, वडाध्यक्ष आउने । सहकारी विभागबाट एकाध बोलाउने अनि साधारण सभा सम्पन्न गर्ने । विभागबाट आएका प्रतिनिधिलाई आफन्त हो कि बचतकर्ता के थाहा ? साधारण सभामा आएकालाई दुईदेखि पाँच सय खाममा हालेर दिने ।

सहकारी घाटामा गइसकेको हुन्छ तर हाम्रो सहकारीले यति नाफा कमाएको छ भनेर प्रचार गर्ने । भोज खुवाउने अनि सहकारीको प्रतिनिधिको आँखामा धुँलो झोकेर पठाउने । बचतकर्ताले हाम्रो बचत कहाँ लगानी छ ? भनेर सोध्यो भने थर्काउछन् । किन चाहियो भन्दै उल्टै प्रश्न गर्छन् । आफ्नो बचत कहाँ लगानी गरिएको छ ? सुरक्षित छ कि छैन् ? बचतकर्ताले जानकारी पाउनुपर्छ । सहकारीको हिसाब अडिट गराउँदा अडिटरलाई घुस खान दिने । त्यसपछि कागजपत्र नवीकरण गर्छन् ।

सहकारीभित्र भएका कालोधन्दाहरु बाहिर ननिस्किन हरसम्भव कोसिश गर्छन् । सहकारीमा भएका बेतिथिहरु कर्मचारीले कसैलाई भन्यो भने मात्र जागिर खोसियो भनेर ठाने हुन्छ । राज्यलाई एउटा हिसाब देखाउँछन् तर सहकारीको धन्दा अर्कै हुन्छ । बचतकर्ताले राखेको रकमको कर र कर्जाको कर तिर्दैनन् । यो हिसाब राज्यले देखेकै छैन् । जसरी हुन्छ कमाउनेतर्फ मात्र यिनको ध्यान छ । सहकारीमा चाहिने १० हजारको सामान किन्यो भने पाँच हजारको बिल बनाएर खान्छन् । सेयर होल्डरहरुलाई जानकारी नगराउने ।

सहकारीका अध्यक्ष र सञ्चालक दिँउसो २ बजे कार्यालय आउने । अनि डेढदेखि दुई लाख तलब खाने । संस्थाकै नामको गाडी प्रयोग गर्ने । पेट्रोल पनि त्यहीबाट हाल्ने । खाजा पनि संस्थाकै पैसामा खाने । बजारमा पैसा उठाउने प्रतिनिधिलाई सातदेखि १० हजार दिने । बिहान ९ देखि बेलुका ६ बजेसम्म काम लगाउने । क्यासमा काम गर्नेलाई बढीमा १५ हजार तलब दिने । आफ्नै कर्मचारीलाई शोषण गर्ने । बचतकर्ताबाट दैनिक उठाएको पैसा जम्मा तीन प्रतिशत दिने त्यो पनि महिना मरेपछि । सहकारीमा भएको यस्तो बेतिथिको अन्त्य कहिले ?

अनुसा थापा
भक्तपुर