मन्त्री तथा सचिवहरूलाई प्रभावकारी रूपमा काम गर्न मुख्यमन्त्रीको निर्देशन

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री तथा सचिवहरूलाई प्रभावकारी रूपमा काम गर्न सुझाव तथा निर्देशन दिएका छन् ।

मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नभई काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन् । पुँजीगत खर्च बढाउन, चालू खर्च घटाउन, अनावश्यक चालू खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नसमेत उनले निर्देशन दिए ।

त्यसैगरी आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फस्र्योट गर्न एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए । उनले प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न आग्रहसमेत गरे ।

मुख्यमन्त्री अधिकारीले समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढङ्गबाट सम्पादन गर्ने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिए ।