राष्ट्रिय जैविक विविधता दिवस सप्ताहव्यापी रुपमै मनाइयो

विभिन्न संघ संस्थाहरुले रैथाने बाली संरक्षण गर्न गरे प्रतिबद्धता


अशिम सापकोटा

काठमाडौं : पछिल्लो समय अत्यधिक चिसो-तातो, अतिवृष्टि-अनावृष्टि लगायत कारण सिर्जित प्रकोपजन्य घटनाको बढ्दो दर र युद्ध, द्वन्द्व, बसाइसराई लगायतका अन्य घटना परिघटनाहरूको कारण विश्व आक्रान्त छ । यसको अतिरिक्त भावी दिनहरूको बारेमा गरिएका केही पूर्वानुमानहरू वास्तवमै अत्यासलाग्दा छन् ।

मानव अस्तित्व जैविक विविधताामा अडिएको छ । अहिले धान, गहुँ, मकैलगायत खाद्यान्नका विभिन्न प्रजातिले विश्वको ९० प्रतिशत खाद्यान्नको आपूर्ति हुने गरेको छ । मानव जाति खानेकुरा, औषधि, लुगा, इन्धन, निर्माणसामग्री, स्वच्छ हावापानी, मनोवैज्ञानिक सन्तुष्टिका लागि जैविक विविधताामा भर पर्नुपर्छ । जैविक विविधता जति बढी कायम राख्न सक्यो, त्यत्ति नै मानिसको बाँच्ने आधार बलियो हुन्छ ।

अहिले एक प्रजातिको जिन अर्को प्रजातिमा प्रत्यारोपण गर्न सक्ने प्रविधिको विकास भएको छ । योसँगै जैविक विविधताको महत्व अझै बढेर गएको छ । अहिले अनुपयोगी देखिएका जीवजन्तु, वनस्पतिमा पनि कुनै न कुनै गुण लुकेको हुन्छ र भविष्यमा त्यसलाई मानवहितका लागि प्रयोगमा ल्याउन सकिनेछ । मानिसका लागि अत्यावश्यक पानी, स्वच्छ हावाजस्ता वातावरणीय सेवालाई अविच्छिन्न रूपमा सञ्चालन गर्नसमेत जैविक विविधताको संरक्षण हुन आवश्यक छ ।

कृषि जैविक विविधता दिगो कृषि, स्वस्थ पर्यावरण र सार्वभौमिक पौष्ट्रिक खाद्य प्रणालीको मख्ुय आधार हो । हाल अन्तराष्ट्रिय निती नियमले गर्दा जैविक विविधतामा आएको हस गर्दा आफ्नो देशमा भएको कृषि जैविक विविधताको सरंक्षण र उपयोगमा विशेष जोड दिनु पर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न बर्षहरुलाई विभिन्न प्रसंगको रुपमा घोषणा गरी विशेष अभियान र कार्यक्रमको पहल हुँदै आएको छ । यसै अनुरुप यसै बर्षबाट सरकारले माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाएको छ र यो दिवशलाई साप्ताहिक रुपमा नै मनाइएको छ । कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको अहम् भूमिका एवं जिम्मेवारी रहिआएको छ । नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय एवं भौगोलिक विविधातायुक्त मुलुक हो ।

विभिन्न सचेतनाका कार्यक्रमहरूको आयोजना गरी देशैभरी सप्ताहव्यापी रुपमा राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख गर्नुका साथै गत असोज २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जैविक विविधता दिवस मनाउन निर्णय समेत गरेको थियो ।

सरकारले माघ १ गतेदेखी ७ गतेसम्म सप्ताहव्यापी रुपमा सम्पन्न भएको राष्ट्रिय कृषि जैविक विविधता दिवसको सेरोफरोमा गरीएका विभिन्न कार्यक्रम र गतिविधिहरुलाई यो रीपोर्ट मार्फत समेट्ने प्रयास गरेका छौँ । जिवन तथा वातावरणको लागि कृषि जैविक विविधता भन्ने नारा सहित माघ १ गतेदेखी ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइएको छ राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९ । माघ ७ गते समापन कार्यक्रममा भएका र सरोकारवाला तथा यस दिवशलाई औपचारीक रुपमा सफल बनाउन विभिन्न संघ संस्था तथा अभियन्ताको कुराहरुलाई समेत हामीले समेट्ने प्रयास गरेका छौँ ।

सप्ताहरुपी रुपमा मनाइएको यस बर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९ को समापन कार्यक्रम बिच, नेपालमा रैथाने कृषि जैविक विविधता संरक्षण तथा उपयोगमा देखिएका चुनौती, अवसर र आगामी रणनिती विषयक अन्तरक्रियात्मक कार्यक्रम समेत सम्पन्न भएको छ ।

कृषि विभाग अन्तर्गतको वाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल ललितपुर, नेपाल कृषि अनुसन्धान परीषद नार्क अन्तर्गत रहेको राष्ट्रिय कृषि आनुवांशिक श्रोत केन्द्र अर्थात जिन बैँक, कृषी ज्ञान केन्द्र ललितपुर, रैथाने एग्री प्रोडुक्ट्स प्रा.लि, मुना कृषि कम्पनी लिमिटेड, राष्ट्रिय खाध बैँक लि., ग्यास्ट्रोनोमी टुरीजम एसोसिएसन अफ नेपाल, होमस्टे एसोसिसन नेपाल, इन्टरनेशनल नेप्लिज सेफ सोसाइटी, ओम शिवशक्ती मौरी पालन उधोग, साब नेपाल, होटल व्यवस्थापन अनुसन्धान संस्थान, रैथाने, कोथिना मिठो छ, स्किल फ्याक्ट्री, हस्पिटालिटि सोलुसन प्रा.लि.,टुरीजम फर प्रस्परीटी, एलाइन्स फर इन्टरनेशनल डेभलपमेन्ट(एआइडी), नेपाल पिएचडी एसोसिएसन(एनपिए), नेपाल युथ काउन्सील(एलवाइसी) म्रितिका, वल्डवाइड नेचर कन्जरभेसन नेपाल(डब्लुडब्लुएन) लगायत डेढ दर्जन भन्दा बढि संघ संस्थाको साझेदारीमा सम्पन्न भएको थियो ।

रैथाने बालीहरुको प्रवद्र्धन गर्दै आएका साहित्य तथा पत्रकारीतामा समेत संलग्न रहेका वैरागी जेठाले समेत संचारमाध्यमले समेत यस्ता बिषयहरुलाई उच्च महत्व दिएर प्राथमिकतामा राख्नुपर्ने बताए, साथै उनले रैथाने बालीहरुको विस्तारमा आँफु सदैव यस्ता अभियानमा लाग्ने समेत जानकारी गराए ।

जैविक विविधताको महत्वलाई दर्शाउन अन्तराष्ट्रिय जैविक विविधता दिवस भने हरेक मे २२ का दिन मनाउने गरीएको छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधतामहासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविकविविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अंगिकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइदै आएको हो ।

वाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल ललितपुरका प्रमुख तथा जैविकि विविधता विज्ञ डा. रामकृष्ण श्रेष्ठको आलेख अनुसार संयुक्त राष्ट्रसंघका अनुसार माटोको मरुभूमीकरण हुने क्रम यथावत् रहेमा अबको करिब ६० वर्ष मात्र कृषि उत्पादन सम्भव हुनेछ । पृथ्वीमा जीवजन्तु तथा वनस्पतिको सम्भावित छैटौं सामूहिक विलुप्तता (मास एक्सटिन्सन) को भविष्यवाणी त्यत्तिकै अत्यासलाग्दो छ । विश्व प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङ्गसको पृथ्वीको आयु १०० वर्ष बाँकी रहेकोले अरु ग्रहमा मानव बसोबासको विकल्पमा काम गर्नुपर्ने बारेको भनाइले हामीलाई झस्काइरहेकै छ । यी भविष्यवाणीका बारेमा सत प्रतिशत हो नै भन्ने आधार नभए पनि अवस्था सामान्य नभएको बारेमा भने विश्व प्रायः एकमत नै देखिन्छ । उल्लेखित घटना र गरिएका पूर्वानुमान वा भविष्यवाणीहरूमा कुनै न कुनै रूपमा जलवायु परिवर्तन र जैविक विविधता ह्रास प्रमुख कारक तत्वको रूपमा रहेका पाइन्छन् । पृथ्वीमा जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेकाले यी दुई समस्याको कारण मानव अस्तित्व नै संकटमा पर्दै गएको बारे विश्वव्यापी रूपमा चासो र चिन्ता बढ्दै गएको पाइन्छ ।

नेपालका रैथाने कृषि उपज तथा बस्तुहरुको संरक्षण, उत्पादन, प्रर्बद्धन, विस्तार, बजारीकरणका साथै मौलिक ज्ञान र सिपहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले बहु आयामिक क्षेत्रमा काम गर्दै आइरहेको रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. निजी क्षेत्रको सामुहिक कम्पनी हो । नेपालको मौलिक कृषि बाली, ज्ञान र सिपहरुको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्नको लागि तल्लिन बनिरहेको जानकारी गराउदै छन् रैथाने एग्रि प्रडक्ट्सका संस्थापक संचालक शंकर गौतम ।

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्ता बालीहरुलाई हामी सबैले उच्च प्राथमिकता दिनुपर्ने समय आएको छ । कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, स्वस्थ जीवन, वाताबरण र गरिव तथा सिमान्तकृत लगायत अन्य थुप्रै समुदायको जिविकोपार्जनको प्रमुख आधार हो । हाम्रा रैथाने बालीहरुलाई बजारसँग समेत जोड्नु आवश्यक छ । यसरी रैथाने बालीको बजार व्यवस्थापनको लागि हामेस्टे संवाहकको रुपमा रहन सक्छ । अहिले ‘होमस्टे’ सुविधा भएका गाउँ भ्रमण गर्दा सस्तोमात्र होइन, रमाइलो पनि हुन्छ । ‘होमस्टे’ सांस्कृतिक संगठनका रूपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राक्रममा ‘ग्रामीण भेगका घरमा बास बस्ने’ भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था जनाउँछ । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । इको होेम स्टे नेपालकि सदस्य नम्रता आचार्यले समेत होम स्टेले रैथाने बालीको प्रवद्र्धनमा सहयोग गर्ने बताउछिन्, तर नेपालमा यस्ता बालीहरुको पढाइ र स्वास्थ्यको फाइदाको बारेमा समेत सचेतना नभएकोमा अली दुखी पनि छन् उनी ।

हामीकहाँ ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानिय पर्यटन प्रवर्द्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो । त्यसो त होमस्टेको छुटै विशेषता छ । आनन्द छ । महत्व छ । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ । पछिल्लो समयमा होमस्टे प्रतिको आकर्षणले गर्दा होमस्टेको सम्भावना बृहत्तर बन्दै गरेको प्रस्टाइन इको होेम स्टे नेपाल डट कम व्यवस्थापक स्मृति पराजुली ।

ह्रासोन्मुख अवस्थामा रहेका रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकरात्मक असर पर्न गइ समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने अवस्था आएको छ । कृषि जैविक विविधताको संरक्षणबारे आम सर्वसाधारण र सरोकारवाला पक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोगमा जोड दिन अति आवश्यकता भैसकेको परीप्रेक्षमा पर्यटनका जानकार तथा अभियन्ता बिजय ढकाल भने नेपालका उत्पादनको फाइदा बिचौलियाले बढी लिएको आक्रोस पोखे, साथै ढकालले उत्पादक र उपभोक्ताको दुरी घटाउन सकेमात्र सबैलाई न्याय हुने निष्कर्ष राखे ।

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ,खाना पहिले आँखाले खान्छ, अनि नाक र त्यसपछि मात्र जिब्रोले । खानाको पहिलो ग्राहक आँखा हो । आकर्षक ढंगले पस्किएको खानामा आँखा रमाउँछ । हर्रर चल्ने बास्नाले नाक रमाउँछ अनि मात्रै जिब्रोले स्वाद लिन्छ । पाककला पढाउनेहरुको ओठमै माथिको भनाई झुण्डिएको हुन्छ । उनीहरु नेपालमा इन्डियन, चिनियाँ युरोपियन, कन्टिनेन्टल खाना पकाउन सिकाउँछन् ।

तिनले हाम्रा रैथाने परिकार पकाउन मात्र कमै सिकाउँछन् । त्यसैले त काठमाडौं, पोखरा, चितवन लगायत पर्यटकीय सहरका होटल-रेस्टुँरामा विदेशी परिकारको बासना हर्रर चल्छ । हाम्रो रैथाने परिकार राम्रोसँग पस्कन सके विदेशीका आँखा, नाक र जिब्रो पनि रमाउने थिए । ग्लोबल नेप्लिज सेफ फिडरेसनका अध्यक्ष तथा बरीष्ठ सेफ लक्ष्यमण भण्डारीका अनुसार हाम्रा खाना पोषिला, गुनिला र स्वास्थ्यबर्धक छन् । नेवार परिकार र दालभातको राम्रो मार्केटिङ भैसकेकाले यी खाना स्वदेशी र विदेशी दुबै माझ प्रख्यात छन् । प्रयास गरे हिमाल र तराईका परिकारले पनि बजार लिन सक्छन् ।

आन्तरीक पर्यटक होस् या बाह्य पर्यटक, स्थानीय परिकार चाख्न चाहन्छन् । मन परे दोहो¥याएर खान्छन् । त्यसैले हाम्रो संस्कृति चिनाउन हामी धेरैथरि परिकार मिलाएर नेपाली खाना पस्कियौँ भने मात्र हाम्रो चिजको महत्व बढेर जान्छ ।

रैथाने गाईको उत्पादन तथा उत्पादकत्व कम भएकोले नै होला आयातित युरोपियन मुलुकका गाईहरूले नेपाली बजारमा बर्चश्व कायम गरेको । तर धेरै उत्पादन गर्ने होडबाजीमा हामीले रैथाने गाइको महत्व कति बुझेका छौँ त ? हामीले दूध उत्पादन अत्यधिक वृद्धि गर्नुको साथै गुणस्तरीय एवम् स्वास्थ्यकर दूध उत्पादन गर्न पनि त्यतिकै महत्त्वपूर्ण छ । नेपालमा रहेका रैथाने जातका पशुहरूको व्यवस्थापनका लागि उचित स्याहार सम्भारको त्यतिकै महत्व छ । दूध उत्पादन तथा उत्पादकत्वमा उल्लेख्य सुधार गर्न रैथाने चौपाया पालनमा असल पशुपालन अभ्यास अवलम्बन गरिनु आवश्यकछ । मानव स्वास्थ्यको लागि रैथाने गाइहरुबाट उत्पादित दुधको अपार महत्व रहेको छ । त्यसैले रैथाने गाइहरुको दूध उत्पादन गरी खाद्य सुरक्षा तथा पोषणमा उल्लेख्य सुधार गर्न सकिन्छ । रैथाने चौपायाको दूधमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेकोले यिनिहरुको संरक्षण तथा प्रवर्द्धन गर्नु अपरिहार्य छ ।

रैथाने गाइको दुध र गहुँतको समेत प्रवद्र्धन गर्दै आएकि लिला श्रेष्ठ प्राकृतिक चिकित्सक हुन्, उनले पन्चगव्य र रैथाने गाइको दुधको सेवन मानव स्वास्थ्यलाई निकै फाइदा हुेने बताउछिन् । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्त्व छ।अर्को कुरा गौमुत्र वालीनालिमा प्रयोग गर्दा वालीनालीमा किराफट्याङ्गा ले नास गर्दैन फलफुल नाश हुनबाट जोगाउछ ।

नेपाल जैविक विविधतामा धनि भएता पनि पछिल्लो समय जलवायु परिवर्तन, वन बिनास, ,आधुनिक खेति प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलवा कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएको छ । त्यसै गरि हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरुमा पस्किने पंच गुणि ले भरिपूर्ण मौलिक खाना विविध परिकारहरु क्रमिक रुपमा लोप हुँदै गैरहेका छन् । ह्रासोन्मुख अवस्थामा रहेका रैथाने तथा स्थानीय कृषि जैविक विविधता (जस अन्तर्गत कृषि बाली, घाँसे बाली, पशुपन्क्षि, कृषि किरा, कृषि शुक्ष्म जीवाणु र जलीय कृषि आनुवंशिक स्रोतहरु पर्दछन्) को संरक्षण र दिगो उपयोगमा ध्यान पुर्याउन नसकिएमा कृषि पारिस्थितिक प्रणालीमा नै नकारात्मक असर पर्न गइ समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने देखिन्छ । राष्ट्रिय कृषि आनुवांशिक श्रोत केन्द्र अर्थात जिन बैँकका प्रमुख तथा वरीष्ठ कृषि वैज्ञानिक डा. बालकृष्ण जोशीले कृषि जैविक विविधताको महत्व, यसको संरक्षण तथा उपयोगवारे आम सर्वसाधारण र सरोकारवाला पक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोग गरेर देशको आर्थिक उन्नति गर्नमा जोड दिनु पर्ने टड्कारो भएको बताए, साथै डा. जोशीले यो बर्षको राष्ट्रिय कृषि जैविक विविधता बर्ष २०७९ सबैलाई जनचेतनाको लागि संवाहक बन्दै गरेको सफलतापुर्वक सम्पन्न भएको जानकारी गराए ।

मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो दिवश मनाउदै गर्दा सबै उत्साहित भएको पाइयो, सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिएको थियो भने एक सेट खाना नि ःशुल्क चखाउने व्यवस्था समेत गरिएको थियो । मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिबस सबैको साथ सहयोगले नै सम्पन्न भएको जानकारी गराए ग्यास्ट्रोनोमी टुरीजम एसोसिएसन अफ नेपालका अध्यक्ष तथा मौलिक खाना प्रवद्र्धनकर्ता रमेश भण्डारी ।

कृषि जैविक विविधतासंरक्षण, सम्बर्द्धन, प्रबर्धन, सुधार, उत्पादन, र यसको उचित बजारीकरणका साथै नेपाली मौलिक विविध खानाको प्रबर्धन अनि बिबिधिकरण गर्दै स्वस्थ्य जिवन, सम्पन्नता र आत्मनिर्भरता सहितको जीवन र स्वच्छ वातावरण वनाउने अभियानमा हामी सबैले गर्नुपर्ने सुझाएका छन् होमस्टे महासंघका सल्लाहकार तथा पर्यटन अभियन्ता कृष्ण अर्याल । जातीय संस्कृति र परिकारको विविधता धेरै छ नेपालमा । पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका खानाका आ–आफ्नै बिशेषता छन् । खानाकै कारण कति ठाउँ चर्चित छन्, यस्ता ठाँउहरुलाई प्रवद्र्धन गर्नुपर्ने जोड दिन्छन अर्याल ।

पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकरात्मक प्रभावका कारण समग्र जैविक विविधताको कृषि जैविक विविधताको हास्रलाई तीव्र बनाएको देखिएको छ । राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९ को समापन कार्यक्रम बिच, नेपालमा रैथाने कृषि जैविक विविधता संरक्षण तथा उपयोगमा देखिएका चुनौती, अवसर र आगामी रणनिती विषयक अन्तरक्रियात्मक कार्यक्रम समेत सम्पन्न निकै प्रभावकारी भएको जानकारी गराँउदै हुनुहुन्छ रैथाने एग्रि प्रडक्ट प्रा.लि.का अध्यक्ष तिलक ढकाल ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएकि बागमती प्रदेशकी उप सभामुख अप्सरा चापागाँइले अबका हाम्रा पुस्तालाई रैथाने खाना र रैथाने बालीहरुको महत्व जानकारी गराउनुपर्ने बताउनुभयो, साथै बागमती प्रदेशका सम्भावनाहरुलाई आँफुले समेत सक्दो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

  • विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न भएको यस जैविक विविधता बर्ष २०७९ मा यसै औपचारीक कार्यक्रमबिच सहकार्य गर्ने संस्थाहरुले विभिन्न कार्यको लागि प्रतिबद्ध समेत गरेका थिए, प्रतिबद्धताहरु यस्ता थिए ।
  • ठाउं तथा जात बिशेष खाने परिकार तथा कृषि उपजको विकास र विस्तार साथै रेस्टुरां, पसल, तथा होटलको मेनुमा कम्तिमा रैथाने-स्थानीय बस्तु वा त्यसको परिकार राख्न अभिप्रेरित गर्ने र उक्त वस्तुहरुको पहिचान गरि अभिलेख तयार गर्नुको साथै भौगोलिक संकेत चिन्ह तथा अन्य अधिकार प्राप्त गर्न अग्रसर हुने ।
  • रैथाने तथा स्थानीय परिकारहरुलाई समयनुकुल परिमार्जित गरि यसको बजार क्षेत्र बढाउने र अध्ययन अनुसन्धानमा जोड दिई पोषण र स्वस्थ परिकारको विकास गर्ने ।
  • पन्च गुणीय हिसाबले उच्च भएको स्थानीय उपजहरुको पहिचान गरि विकास, विस्तार र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने ।
  •  स्थानीय स्तरमा कृषि जैविक विविधता मेला, हाट बजार र मौलिक खाद्य मेलाको आयोजना गर्ने र रैथाने तथा स्थानीय प्रत्येक वस्तु र परिकारको बजार सुनिश्चता गर्न पहल गर्ने ।
  • कृषि जैविक विविधताको महत्वबारे आम जनमानसमा चेतना बढाई दिगो संरक्षण तथा उपयोगमा टेवा पुर्याउने र शिक्षा र अनुसन्धानमा संलग्न गर्ने ।
  •  रैथाने र स्थानीय कृषि आनुवंशिक स्रोतमा आधारित राष्ट्रिय गौरवको योजना संचालन गर्न सरकारलाई ध्यानाकर्षण साथै आवशयक सहयोग गर्ने गराउने ।
  •  संस्थामा भएका ज्ञान, सिप, क्षमता र सिकाइ एक आपसमा आदान प्रदान गर्दै यसको दायरा बढाउने ।
  •  वस्तु र परिकारहरुको विस्तृत जानकारीमुलक सामाग्री एक द्वार वेब पोर्टल मार्फत सर्वसुलभ गर्ने ।
  • अनुसन्धान, उत्पादन, खायन क्षेत्रहरु, र भवनहरुलाई किरा, शुक्ष्म जीवाणु र चरा मैत्री बनाउन पहल र सहयोग गर्ने ।
  •  रैथाने तथा स्थानीय कृषि अनुवांशिक स्रोतहरु संरक्षणको लागि विविध संरक्षण बैंकहरु स्थापना गर्न अग्रसर हुने ।
  • नेपालकै भुमिमा उत्पती भएको सुन्तलालाई रास्ट्रीय फलको रुपमा मान्यता दिलाउन आवश्यक पहल र सहयोग गर्ने ।
  •  हाम्रा सिप , प्रविधी, सामाजिक मुल्य मान्यताहरु विध्यालय, कलेजहरुमा सामाजिक ल्याब मार्फत नयाँ पुस्तामा सिप हस्तान्तरण गर्दै स्वरोजगार सृजना गर्न अभियान संचालन गर्ने ।
  • विद्यालयको स्थानीय पाठ्यक्रममा कृषि जैविक विविधता संरक्षण तथा रैथाने बाली उत्पादन र मूल्य अभिवृद्धि सम्वन्धि विषय समावेश गराउन पहल गर्ने ।
  • सरकारी तथा सरोकारवालाहरु निकायले औपचारिक बैठक, सभा, समारोह, तालिम, गोष्ठी आदिमा यथासक्य रैथाने बालीमा आधारित स्थानीय मौलिक खाद्य परिकारलाई खाजा तथा खानाको रुपमा प्रयोग गर्न पहल गर्ने ।
  • मौलिक कृषि आनुवंशिक स्रोत तथा परम्परागत ज्ञानहरु– खाद्य, पोषण, स्वास्थ्य, ब्यबसाय र वाताबरणको लागि अति आवशयक हुन् भन्ने मूलमन्त्रका साथ् सदा अगाडी बढ्ने ।

यसरी जिवन तथा वातावरणको लागि कृषि जैविक विविधता भन्ने नारा सहित माघ १ गतेदेखी ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइएको छ राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९ सम्पन्न भएको थियो ।

 

 

यो रिपोर्टकर्ता सापकोटा एग्रो टाइम्सका प्रवन्ध निर्देशक समेत रहेका छन्, । उनी नेपाल एफ एम नेटवर्क ९१.८ मेगाहर्जबाट हरेक दिन प्रसारण कार्यक्रम कृषि सवाल र स्पेस फोर के टेलिभिजनमार्फत हरेक दिन प्रसारण भईरहेको कार्यक्रम समृद्ध कृषिका समेत संयोजक रहेका छन् ।