भारतको सिद्धार्थ र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच पाली तथा संस्कृत भाषाको अध्ययन अनुसन्धान गर्ने सम्झौता

रुपन्देही : भारतको सिद्धार्थ विश्वविद्यालयसँग लुम्बिनी बौद्ध विश्वविद्यालयले सहकार्य सम्झौता गरेको छ । लुम्बिनीमा दुई विश्वविद्यालयबीच यस्तो सम्झौता भएको हो ।

शैक्षिक तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने, पाली तथा संस्कृत भाषाको अध्ययन, अनुसन्धान तथा शिक्षक–विद्यार्थी आदानप्रदान गर्ने सहकार्यको उद्देश्य रहेको छ । सहमतिपत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा‍. तिलकराम आचार्य र सिद्धार्थ विश्वविद्यालयका रजिस्ट्रार डा. अमेन्द्रकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले दुई विश्वविद्यालयको सहकार्यले प्राज्ञिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । सिद्धार्थ विश्वविद्यालयका उपकुलपति हरिबहादुर श्रीवास्तवले विश्वविद्यालयबीचको अनुभव आदानप्रदानले प्राज्ञिक विकासमा महत्त्वपूर्ण टेवा पुग्नुका साथै दुई देशबीचको सम्बन्ध पनि बलियो बन्दै जाने बताए ।

सिद्धार्थ विश्वविद्यालयका रजिस्ट्रार डा. अमेन्द्रकुमार सिंहले दुई विश्वविद्यालयको सहकार्यले दुई देशलाई अझ बलियो रुपमा जोड्ने बताए । सिद्धार्थ विश्वविद्यालयबाट उपकुलपति श्रीवास्तवको नेतृत्वमा रजिस्ट्रार सिंह, डीन प्रा. हरिशकुमार शर्मा, प्रा. सुशील तिवारी, डा. नीता यादव, डा. अविनाश प्रताव सिंह, प्रा. मञ्जु द्विवेदीसहितको टोली लुम्बिनी बौद्ध विश्वविद्यालयमा आएको थिएयो ।

बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. आचार्यले बौद्ध दर्शन, पुरातत्व क्षेत्रको अध्ययन अनुसन्धानमा केन्द्रित र बौद्ध विश्वविद्यालयले प्राज्ञिक कार्य गरिरहेको बताउँदै अध्ययन अनुसन्धानलाई सहकार्यमा अघि बढाउन सकिने बताए ।