मकवानपुर गोल्डकप माघ २९ गतेबाट क्याम्पा रंगशालामा हुने

मकवानपुर : स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेबाट हुने भएको छ | जिल्ला फुटबल संघ मकवानपुरले सोमबार हेटौंडामा एक पत्रकार सम्मेलन गर्दै गोल्डकप हुने बताएको हो ।

प्रतियोगितामा आयोजक मकवानपुर सहित १२ वटा क्लबहरुले भाग लिने संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष टिका लामाले जानकारी दिए ।
हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालमा हुने प्रतियोगितामा आयोजकसहित सातदोबाटो युवा क्लब, मनाङ् मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब नेपाल, पुलिस क्लब, एनआरटी क्लब, थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, एभिनिर एफ सि क्यामरुन क्लब र जवलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रथम टोलीले नगद रू. १५ लाख र उपविजेता टोलीले रू.१० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडीले नगद रू.५० हजार, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताए ।

फुटबल संघले जनआन्दोलन २०६२–०६३ को सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रथम संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो भने २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।