कवि आचार्य अ. को कृति मेरो यात्रा’ को लोमार्पण

 केशु विरही

सुन्दरहरैँचा : कवि आचार्य अ. को पछिल्लो कृति ‘मेरो यात्रा’ कवितासङग्रहको एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

प्रदेश नेपाल, १ नं प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव डा. देवी दुलाल क्षेत्री प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा साहित्यकार एवम् पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नं १२ का अध्यक्ष रोशनप्रसाद ढकाल, जनागायिका एवम् संविधान सभा सदस्य मधु गुरुङ, स्रष्टा एवम् सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रेमप्रसाद भट्टराई, क्याम्पस प्रमुख चन्द्रमणि राई, अच्छा रसिक राई प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरे, प्रलेस नेपालाका केन्दीय सदस्य राजेन्द्र सङ्ग्रौला लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै अग्रज स्रष्टा कृषबिनोद लम्साल, केशवकुमार सुनाम, रामबिक्रम थापा, बेलबारीका स्रष्टाहरू इरान राई, केशु विरही, धनजीत पराजुली, रेखा सुवेदी, गणेश लामा आँसु, विराट साहित्य समाजका अध्यक्ष उमानाथ भट्टराई, दमक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष होमनाथ भण्डारी, बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष रमेश निरौला, जेफाले सिर्जना डबलीका युवराज ठकुरी लगायत डेढ सयको हाराहारीमा लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कवि, समालोचक डा. दीपकप्रसाद न्यौपानेले लोकार्पित कृतिको टिप्पणी गरेका थिए । कृतिमाथिको सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्दै न्यौपानेले आचार्यका कविताहरू निकै वजनदार रहेका, यी कवितामा कवि आचार्यको व्यक्तित्व र सिर्जन क्षमता प्रष्टसाथ मुखरित भएको बताए । महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका विभागीय प्रमुखसमेत रहेका न्यौपानेले कृतिलाई प्रदेश नं १ कै महत्त्वपूर्ण कृति रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि डा. देवी दुलाल क्षेत्रीले प्रलेस नेपालले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए । ५६ ओटा जिल्लामा समिति बनिसकेको र बाँकी जिल्लामा पनि निर्माण हुने क्रममा रहेको बताए । समालोचकसमेत रहेका क्षेत्रीले साहित्य शोसित र पीडितका लागि लेख्नुपर्ने बताए ।

प्राज्ञ देवी नेपालले अरूले लेखेको सिर्जनालाई राखेर मानक लेखन सिर्जना गर्नुपर्ने बताउँदै कवि आचार्यका कृति भित्र सङ्ग्रहित कविताहरू सोही तहका भएको बताए । स्तुति, प्रसस्तिमा मात्र मख्ख गरिरहेको, छन्दलाई तोडमोड गरिरे बिगारिरहेको आरोप लागिरहेको बताउँदै छन्दमा लेख्ने कविहरूले त्यो आरोपबाट मुक्त हुनुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य विभागमा प्रमुखसमेत रहेका नेपालले कवितामा शब्द सौन्द्रय, भाव गाम्भिर्य र लयमा माधुर्य यी तत्व अनिवार्य रहेको बताए ।
कार्यक्रमका अध्यक्ष एवम् प्रलेस, नेपाल १ नं प्रदेशका अध्यक्ष तिला लेकालीले उत्कृष्ट कृतिको लोकार्पण गर्ने अवसर प्रदान गरेकोमा लेखक र सहभागिताको लागि सबै साहित्यप्रेमी मनप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, प्राज्ञ सुभद्रा भट्टराई, साहित्यकार भवानी क्षेत्री, कविराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने सबैले आचार्य अ. को विद्वताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा साहित्यिक सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा कवि बिन्दु दाहाल मुकदर्शक, टीका आत्रेय, सुमी पोखरेल, छवि वैरागी घिमिरे लगायतले लोकार्पित कृति भित्रका रचना वाचन गरेका थिए । साथै सहभागीको तर्फबाट पनि प्रतिनिधि रचनासमेत वाचन गरिएको थियो । साथै कार्यक्रममा कलाकार सञ्जीव धिमालको साङ्गितिक प्रस्तुति पनि रहेको थियो ।

भाषा र साहित्यका क्षेत्रमा निकै अब्बल मानिने कवि आचार्यको यस अघि नै २०६३ मा ‘हिमाल चढ्ने रहर’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भइसकेको छ ।
संस्थाका उपाध्यक्ष रामप्रसाद खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भने सचिव राजेन्द्र सर्वहाराको रहेको थियो ।