बाँकेमा दादुराका बिरामी बढ्दै

बाँके : बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । बाँकेमा मात्रै दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जना फेला परेका हुन् । बाँकेमा अहिलेसम्म एक सय ५० निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

५८ घरमै उपचाररत छन् । नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका पाँच हजार नौ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताए । नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

दादुराको जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताए । नरैनापुरमा फैलिरहेको दादुरा महामारी नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको उनको भनाइ छ ।