‘ए’ डिभिजन लिगको खेल तालिका आज सार्वजनिक हुँदै

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिगको खेल तालिका (टाइसिट ड्र) शुक्रबार सार्वजनिक गरिने जनाएको छ।

एन्फा कम्प्लेक्समा आयोजना हुने टाइसिट ड्र कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ । यस अघि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने तय थियो । तर, पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार शोक विदा दिएको कारण एन्फाले खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो ।

शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याइएको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।